भोलि हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा हर्क बहादुर विक सक्रिय चुनावी अभियानमा

Listen to this article
1 minute read

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको भोलि (असार २७ गते, शनिबार) हुने निर्वाचनको पूर्वसन्ध्यामा सदस्य (वाणिज्य) पदका उम्मेदवार तथा इटहरी–६, विराटनगर लाइनस्थित न्यु ओम साइ गहना गृहका सञ्चालक हर्क बहादुर विक चुनावी अभियानलाई अन्तिम चरणमा पुर्‍याउँदै व्यवसायीहरूसँग भेटघाटमा व्यस्त छन्।

लामो समयदेखि सुनचाँदी तथा गहनाको व्यवसाय गर्दै आएका विकले व्यवसायीहरूको वास्तविक समस्या, बजारको वर्तमान अवस्था र निजी क्षेत्रका चुनौतीलाई नजिकबाट बुझेको अनुभव उद्योग वाणिज्य संघमार्फत समाधानतर्फ लैजान उम्मेदवारी दिएको बताएका छन्।

उनले उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा र बलियो संस्थाका रूपमा विकास गर्दै साना, मझौला तथा ठूला सबै व्यवसायीको हकहितका पक्षमा समान रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बजारको सुस्त कारोबार, आर्थिक मन्दी, लगानीको असुरक्षा तथा व्यवसायमैत्री वातावरण निर्माणका विषयलाई आफ्नो प्राथमिकतामा राख्ने उनले बताएका छन्।

निर्वाचनको पूर्वसन्ध्यामा विकले इटहरीका विभिन्न व्यापारिक क्षेत्रका व्यवसायीहरूसँग भेटघाट गर्दै आफ्नो योजना र प्रतिबद्धता प्रस्तुत गरिरहेका छन्। भेटघाटका क्रममा व्यवसायीहरूले पनि संघको नेतृत्व व्यवसायीमैत्री, पारदर्शी र उत्तरदायी हुनुपर्ने सुझाव दिएका छन्।

यसैबीच अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारीसँगै हर्क बहादुर विकले संयुक्त रूपमा चुनावी अभियानलाई तीव्र बनाएका छन्। दुवैले व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै सक्षम, निष्पक्ष र व्यवसायीको हितमा काम गर्ने नेतृत्वका लागि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन भोलि (असार २७ गते, शनिबार) बिहान ९ बजेदेखि इटहरी–५ स्थित ज्योति माध्यमिक विद्यालयमा हुने निर्वाचन समितिले जनाएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *