इटहरी | इटहरी उद्योग वाणिज्य संघको शनिबार हुने निर्वाचनअघि सार्वजनिक गरिएको एक प्रारम्भिक मत सर्वेक्षणले अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारी अग्रस्थानमा रहेको दाबी गरेको छ।
व्यवसायीहरूमाझ गोप्य रूपमा गरेको दाबी गरिएको प्रारम्भिक मत सर्वेक्षणअनुसार अध्यक्ष पदमा भण्डारीको पक्षमा उल्लेख्य समर्थन देखिएको बताइएको छ। सर्वेक्षणमा सहभागी अधिकांश व्यवसायीहरूले अध्यक्ष पदका लागि भण्डारीलाई मतदान गर्ने मनसाय व्यक्त गरेको उल्लेख गरिएको छ।
सर्वेक्षणअनुसार अध्यक्ष पदमा भण्डारीलाई विभिन्न राजनीतिक दलप्रति आस्था राख्ने व्यवसायीहरूको समेत समर्थन प्राप्त हुन सक्ने देखिएको दाबी गरिएको छ। अन्य पदहरूमा भने प्रतिस्पर्धा निकै कडा रहने र मिश्रित नतिजा आउन सक्ने अनुमान गरिएको छ।
इटहरी उपमहानगरपालिकाका विभिन्न वडाका मुख्य बजार क्षेत्रमा गरिएको भनिएको उक्त सर्वेक्षणमा धेरै व्यवसायीहरूले यसपटक नेतृत्व परिवर्तनको पक्षमा मत दिने मनस्थिति बनाएको बताइएको छ। उद्योग वाणिज्य संघलाई सीमित समूह वा व्यक्तिको प्रभावबाट मुक्त गरी सबै व्यवसायीहरूको साझा संस्थाका रूपमा अघि बढाउनुपर्ने धारणा व्यवसायीहरूबीच बलियो बन्दै गएको निष्कर्ष सर्वेक्षणले निकालेको दाबी गरिएको छ।
सर्वेक्षणका क्रममा केही व्यवसायीहरूले सार्वजनिक रूपमा साझा समूहका उम्मेदवारलाई समर्थन गरेको देखिए पनि गोप्य मतदानमा भने स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारीलाई मत दिने वातावरण रहेको दाबी गरिएको छ। अध्यक्ष पदसँगै केही सदस्य पदमा पनि स्वतन्त्र समूहका उम्मेदवारलाई मतदान गर्नुपर्ने सन्देश सामाजिक सञ्जालमार्फत आदान–प्रदान भइरहेको दाबी समेत गरिएको छ। यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
साझा समूह निकट एक व्यवसायीलाई उद्धृत गर्दै सर्वेक्षणमा अध्यक्ष पदमा भण्डारीले करिब १५० देखि २६० मतसम्मको अन्तरले विजय हासिल गर्न सक्ने अनुमान गरिएको उल्लेख गरिएको छ। उनका अनुसार कतिपय व्यवसायी सार्वजनिक रूपमा अर्का उम्मेदवारको पक्षमा देखिए पनि गोप्य मतदानमा फरक निर्णय गर्न सक्ने अवस्था रहेको दाबी गरिएको छ।
सर्वेक्षणले करिब २ हजार ३ सयभन्दा बढी मतदाता रहेको निर्वाचनमा १ हजार ७ सय ५० हाराहारी मत खस्ने अनुमान गरेको छ। केही मत बदर हुन सक्ने आकलनसहित करिब ८ सय मत प्राप्त गर्ने उम्मेदवारले अध्यक्ष पद जित्ने सम्भावना रहेको उल्लेख गरिएको छ। सो मतसंख्याभन्दा माथि पुग्ने सम्भावना भण्डारीको पक्षमा रहेको दाबी पनि सर्वेक्षणमा गरिएको छ।
यद्यपि, निर्वाचनको अन्तिम परिणाम मतदान र मतगणनापछि मात्र औपचारिक रूपमा स्पष्ट हुनेछ। यदि परिणाम सर्वेक्षणअनुसार आएमा गायत्री कटुवाल भण्डारी इटहरी उद्योग वाणिज्य संघको पहिलो निर्वाचित महिला अध्यक्ष बन्नेछिन्।
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनअन्तर्गत मतदान शनिबार बिहान ९ बजेदेखि इटहरी–५ स्थित ज्योति माध्यमिक विद्यालयमा हुने निर्वाचन समितिले जनाएको छ।














