भोजपुर — टेम्केमैयुङ गाउँपालिकाको २०औँ गाउँसभा विभिन्न महत्वपूर्ण नीति, विधेयक तथा आगामी आर्थिक वर्षका योजना–कार्यक्रमहरू पारित गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।
गाउँसभाले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिने उद्देश्यले पर्यटन नीति, मदिराको उत्पादन, बिक्री–वितरण तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन मदिरा व्यवस्थापन विधेयक, कृषि उत्पादन वृद्धिका लागि सिंचाइ विधेयक लगायत गाउँपालिकाको समग्र विकाससँग सम्बन्धित विभिन्न नीति तथा कानुनहरू पारित गरेको जनाएको छ।
गाउँसभाबाट पारित भएका नीति तथा निर्णयहरूले सुशासनको प्रवर्द्धन, पर्यटन विकास, कृषि उत्पादनमा वृद्धि, प्राकृतिक स्रोत–साधनको दिगो संरक्षण तथा व्यवस्थापन, स्थानीय रोजगारी सिर्जना र समग्र आर्थिक–सामाजिक समृद्धिको आधार निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।
यस्तै, गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ५५,८७,५५,८७६ (पचपन्न करोड सतासी लाख पचपन्न हजार आठ सय छयहत्तर रुपैयाँ) बराबरको वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। उक्त बजेटमार्फत पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, सिंचाइ, वातावरण संरक्षण तथा सामाजिक विकासका कार्यक्रमहरूलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ।
बजेट, नीति तथा आवश्यक विधेयकहरू पारित भएसँगै टेम्केमैयुङ गाउँपालिकाको २०औँ गाउँसभाको अधिवेशन औपचारिक रूपमा सफलतापूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।














