इटहरी | आगामी असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै रेडिमेड व्यवसायी संघ इटहरीले आफ्ना प्रतिनिधि उम्मेदवारहरूको समर्थनमा आयोजना गरेको भेटघाट तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न वस्तुगत संघका पदाधिकारी, व्यवसायी, उद्योगी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रेडिमेड व्यवसायी संघका संस्थापक अध्यक्ष गायत्री कटुवाल भण्डारी उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार तथा संघका वर्तमान कोषाध्यक्ष दिनेश धमला वाणिज्य सदस्य पदका उम्मेदवार रहेकाले उहाँहरूको समर्थनमा कार्यक्रम आयोजना गरिएको हो। सहभागी अधिकांश वक्ताहरूले उद्योग वाणिज्य संघलाई व्यवसायीमैत्री, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्न अनुभवी, इमानदार तथा निडर नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
रेडिमेड व्यवसायी संघका अध्यक्ष दामोदर रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन उपाध्यक्ष सम्झना दाहालले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष दीपक खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा उहाँले रेडिमेड व्यवसायी संघले सधैं व्यवसायीहरूको साझा हितलाई केन्द्रमा राखेर काम गर्दै आएको उल्लेख गर्दै यसपटक आफ्नै संघका प्रतिनिधिहरू उद्योग वाणिज्य संघको नेतृत्वमा पुग्ने अवसर प्राप्त भएकाले सम्पूर्ण व्यवसायीहरूलाई उनीहरूका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो।
कार्यक्रमको सञ्चालन महासचिव महेन्द्र गुरागाईंले गर्नुभएको थियो। उहाँले उद्योग वाणिज्य संघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष बन्ने अवसर गायत्री कटुवाल भण्डारीलाई प्राप्त भएको उल्लेख गर्दै यो केवल एक व्यक्तिको उम्मेदवारी नभई महिला नेतृत्व, व्यवसायी स्वाभिमान र संस्थागत सुधारको अभियान भएको बताउनुभयो।
महासचिव गुरागाईंले उद्योग वाणिज्य संघभित्र देखिएका विभिन्न बेथिति, सीमित समूहको प्रभाव तथा व्यवसायीहरूको स्वतन्त्र आवाजलाई कमजोर पार्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै रेडिमेड व्यवसायी संघले त्यस्ता गतिविधिको घोर विरोध गर्ने स्पष्ट धारणा राख्नुभयो। व्यवसायीहरूको हक, हित र अधिकारको पक्षमा आवाज उठाउने व्यक्तिमाथि अनावश्यक दबाब र आलोचना हुनु लोकतान्त्रिक संस्कृतिका लागि उपयुक्त नभएको उहाँको भनाइ थियो।
उहाँले उद्योग वाणिज्य संघ कुनै निश्चित समूहको स्वार्थ पूरा गर्ने संस्था नभई सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूको साझा संस्था भएकाले नेतृत्व चयन गर्दा समूहगत स्वार्थभन्दा व्यवसायीहरूको हितलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। आगामी निर्वाचनलाई संस्थागत सुधारको अवसरका रूपमा लिन आग्रह गर्दै उहाँले सक्षम, निडर र इमानदार नेतृत्वका रूपमा गायत्री कटुवाल भण्डारी र दिनेश धमलालाई विजयी गराउन सबै व्यवसायीहरूलाई आह्वान गर्नुभयो।
कार्यक्रममा बोल्दै रेडिमेड व्यवसायी संघका पूर्वअध्यक्ष सिताराम सापकोटाले गायत्री कटुवाल भण्डारीलाई संघकी “जननी”को संज्ञा दिँदै उहाँले संघ स्थापना, विस्तार र व्यवसायीहरूलाई एकताबद्ध बनाउन खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायीहरूको हितमा काम गर्ने नेतृत्वलाई सबैले साथ दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
सौन्दर्यकला व्यवसायी संघकी जिल्ला अध्यक्ष विजु श्रेष्ठले महिलाले सक्षम नेतृत्व दिन सक्दैनन् भन्ने सोच अब परिवर्तन हुनुपर्ने बताउँदै नेतृत्व क्षमता लिङ्गले होइन, योग्यता, इमानदारी र कार्यक्षमताले निर्धारण गर्ने बताउनुभयो। उहाँले महिला नेतृत्वलाई अवसर दिन व्यवसायीहरूलाई आग्रह गर्नुभयो।
उम्मेदवार पुनम थापा मगरले परिवर्तनको पक्षमा उभिएको टिमलाई विजयी गराउन सम्पूर्ण व्यवसायीहरूलाई अपिल गर्नुभयो। अर्की उम्मेदवार दुर्गा थापाले उद्योग वाणिज्य संघलाई सीमित समूहको प्रभावबाट मुक्त गर्दै व्यवसायीहरूको वास्तविक संस्था बनाउने अभियानमा सबैको साथ आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा उद्योग वाणिज्य संघका वर्तमान कार्यसमिति सदस्यहरूले पनि संघभित्र देखिएका विभिन्न समस्या, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा व्यवसायीका आवाजको अपेक्षित सुनुवाइ हुन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै परिवर्तनकारी नेतृत्वको आवश्यकता औँल्याएका थिए।
विशिष्ट अतिथि तथा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विष्णु डाँगोलले आफू कार्यसमितिमा रहँदा व्यवसायीका पक्षमा पटक–पटक आवाज उठाए पनि त्यसको उचित सुनुवाइ हुन नसकेको अनुभव सुनाउनुभयो। संस्थालाई सही दिशामा अघि बढाउन नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको भन्दै उहाँले गायत्री कटुवाल भण्डारी नेतृत्वको टिमलाई विजयी गराउन व्यवसायीहरूलाई आग्रह गर्नुभयो।

प्रमुख अतिथि तथा अध्यक्ष पदकी उम्मेदवार गायत्री कटुवाल भण्डारीले उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारी सम्हाल्दा व्यवसायीहरूको पक्षमा काम गर्न खोज्दा अनेक चुनौती र अवरोध सामना गर्नुपरेको अनुभव सुनाउनुभयो। उहाँले उद्योग वाणिज्य संघका सदस्य व्यवसायीहरूको संख्या करिब ६ हजार ५ सयबाट घटेर २ हजार ३ सय ७० मा सीमित हुनु संस्थाका लागि गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्नुभयो।
उहाँले आफू पनि व्यवसाय गरेर संघर्ष गर्दै आजको अवस्थासम्म पुगेकाले प्रत्येक व्यवसायीको दुःख, पीडा र समस्यालाई नजिकबाट बुझेको बताउँदै निर्वाचित भए व्यवसायीहरूको हकहितको संरक्षण, सदस्यता विस्तार, पारदर्शी प्रशासन, संस्थागत सुशासन, व्यवसायीमैत्री नीति, नियमित संवाद तथा उद्योग वाणिज्य संघप्रति व्यवसायीहरूको विश्वास पुनः स्थापित गर्न प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उद्योग वाणिज्य संघलाई कुनै समूह विशेषको होइन, सम्पूर्ण व्यवसायीहरूको साझा संस्था बनाउने उहाँको भनाइ थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष दामोदर रिमालले गायत्री कटुवाल भण्डारीले रेडिमेड व्यवसायी संघ स्थापना गर्नदेखि संस्थालाई मजबुत बनाउने क्रममा पुर्याएको योगदानको स्मरण गर्नुभयो। उहाँले संघलाई पाँच वर्षसम्म निःशुल्क कार्यालय सञ्चालनका लागि स्थान उपलब्ध गराउनुका साथै विभिन्न व्यवसायी, संघसंस्था तथा सामाजिक गतिविधिमा निरन्तर सहयोग पुर्याउँदै आएको उल्लेख गर्नुभयो।
अध्यक्ष रिमालले व्यवसायीहरूको सुखदुःखमा सधैं साथ दिने नेतृत्वको रूपमा गायत्री कटुवाल भण्डारी परिचित रहेको बताउँदै आगामी निर्वाचनमा सम्पूर्ण व्यवसायी एकजुट भएर गायत्री कटुवाल भण्डारी र दिनेश धमलालाई विजयी गराई उद्योग वाणिज्य संघमा सक्षम, पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री नेतृत्व स्थापित गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी अधिकांश व्यवसायीहरूले आगामी निर्वाचन उद्योग वाणिज्य संघको नेतृत्व परिवर्तन मात्र नभई संस्थागत सुधार, व्यवसायीहरूको अधिकार संरक्षण र उद्योग–व्यापारको समग्र विकासको अवसर भएको धारणा व्यक्त गर्दै योग्य, अनुभवी र व्यवसायीप्रति उत्तरदायी नेतृत्वलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएका थिए।













