इटहरी । स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति ७–ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८३ को चौथो संस्करणको उपाधि पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहराले जितेको छ । All Sports Collection को आयोजनामा आइतबार देखि इटहरी–५, काव्यबाटिकास्थित पाथीभरा फुटसल प्रालिमा सुरु भएको प्रतियोगितामा सुनसरीका ३२ विद्यालयका टोलीको सहभागिता रहेको थियो ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनलमा पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहरा र सयपत्री सेकेन्डरी स्कुल, इटहरी–१९ तरहरा बीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयसम्म दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो । त्यसपछि भएको टाइब्रेकरमा पूर्वाञ्चलले ३–२ को जित निकाल्दै उपाधि हात पारेको हो ।
प्रतियोगिताको समापन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवस पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । प्रतियोगिता All Sports Collection का अध्यक्ष विमल मगरको अध्यक्षतामा सञ्चालन भएको थियो ।
प्रतियोगितामा पूर्वाञ्चल सेकेन्डरी स्कुलका युनिस मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनलाई रु. ३० हजार बराबरको छात्रवृत्तिसहित अवार्ड प्रदान गरिएको थियो । यस्तै उत्कृष्ट गोलरक्षक मुइक भुजेल र सर्वाधिक गोलकर्ता युनिस मगर घोषित भए । उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु. २ हजार ५ सयसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
यस्तै सयपत्री स्कुलका प्रवत राई म्यान अफ द म्याच घोषित भए । उनले रु. १ हजारसहित पुरस्कार प्राप्त गरे । फेयर प्ले टिमको उपाधि हाम्रो इङ्लिस बोर्डिङ स्कुलले प्राप्त गर्दै रु. ३ हजार पुरस्कार पायो । राइजिङ प्लेयरको उपाधि हिमशिखर एङ्लिस स्कुलका केशब लिम्बूले हात पारे । उनलाई रु. २ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको अवसरमा फुटसल तथा विद्यालयस्तरीय खेलकुद विकासमा योगदान पुर्याउँदै आएका प्रशिक्षक विमल मगरलाई सम्मान-पत्रसमेत प्रदान गरिएको थियो ।
मगरले सन् २०१६ मा च्यासल युथ क्लब, ललितपुरलाई शहीद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनले एएफसी लाइसेन्स २०१७ प्राप्त गरी राष्ट्रिय लिग २०८२ मा फ्रेन्ड्स क्लब, ललितपुरका प्रशिक्षकका रूपमा समेत काम गरेका छन् । लामो समयदेखि राष्ट्रिय जागृति क्लब इटहरीका प्रशिक्षक रहेका मगर हाल All Sports Collection का अध्यक्ष हुन् ।
सुनसरी जिल्लाका विभिन्न विद्यालयको सहभागितामा पाथीभरा फुटसलमा आयोजना हुँदै आएको अन्तरविद्यालय ७–ए साइड फुटसल प्रतियोगिताको चौथो संस्करणसम्म प्रतियोगिता सञ्चालनमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै मगरलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताले विद्यालयस्तरबाटै फुटसल खेलाडी उत्पादन तथा खेलकुदको विकासमा योगदान पुर्याउने आयोजकको विश्वास छ । आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिँदै थप विद्यालय तथा खेलाडीलाई सहभागी गराउने आयोजकले जनाएको छ ।
यसैबीच, प्रतियोगिताका क्रममा All Sports Collection को तर्फबाट राष्ट्रिय खेलाडी आशिष राईको उपचारका लागि रु. १५ हजार आर्थिक सहयोगसमेत प्रदान गरिएको छ ।














