दुहबी । हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिएको राधाकृष्ण रथयात्रामा मुस्लिम समुदायले पानी तथा जुस वितरण गर्दै धार्मिक तथा सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरेको छ।
सुनौलो मुस्लिम शैक्षिक समाज, दुहबी–९ को आयोजनामा राधाकृष्ण रथयात्रामा सहभागी भक्तजन तथा सर्वसाधारणलाई लक्षित गरी पानी तथा जुस वितरण कार्यक्रम गरिएको हो।
रथयात्रामा सहभागी भक्तजनलाई गर्मी तथा यात्राका क्रममा सहज होस् भन्ने उद्देश्यले पानी र जुस वितरण गरिएको संस्थाका उपाध्यक्ष नजाम हुसेनले जानकारी दिए।
हिन्दु समुदायको धार्मिक पर्वमा मुस्लिम समुदायको सहभागिता र सेवाले ‘हिन्दु–मुस्लिम भाइ–भाइ’ भन्ने सामाजिक एकता र आपसी सद्भावको सन्देश दिएको छ। धार्मिक विविधताबीच एकअर्काको पर्व तथा संस्कृतिलाई सम्मान गर्दै अघि बढ्नुपर्ने सन्देशसमेत कार्यक्रमले दिएको आयोजकले जनाएको छ।
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारालाई बलियो बनाउने उद्देश्यले गरिएको उक्त कार्यले दुहबीमा समुदायबीचको एकता र सहकार्यको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।







