स्थानीय व्यवसाय प्रवर्द्धनमा अरुण गाउँपालिका: हराउँदै गएको परम्परागत ‘कोगटी’ खेतीको संरक्षण सुरु

Listen to this article
1 minute read

भोजपुर | स्थानीय स्तरमा रहेका मौलिक व्यवसायहरूको प्रवर्द्धन र स्थानीय कृषकहरूको आयआर्जनमा सुधार ल्याउने उद्देश्यका साथ भोजपुरको अरुण गाउँपालिकाले परम्परागत कोगटी कपास खेतीको संरक्षण र प्रवर्द्धन थालेको छ। गाउँपालिकाले पछिल्लो समय लोप हुने अवस्थामा पुगेको यो ऐतिहासिक एवं परम्परागत खेतीलाई आधुनिक र व्यावसायिक रूप दिन विशेष प्रयास सुरु गरेको हो।

कोगटी कपासबाट धागो कातेर हातैले बुनिने कपडा स्वास्थ्यका लागि निकै राम्रो हुनुका साथै यसको बजार मूल्य पनि उच्च हुने गर्दछ। विशेषगरी यसबाट उत्पादन हुने खैरो कपडाको माग बजारमा अत्यधिक रहेको छ। विगत लामो समयदेखि कोगटी खेती गर्दै आएका स्थानीय कृषक देवकुमार राईका अनुसार, एक थान कोगटीको कपडा बजारमा २५ हजारदेखि ३५ हजार रुपैयाँसम्ममा सजिलै बिक्री हुने गर्दछ। हाल २० रोपनी क्षेत्रफलमा व्यावसायिक खेती गरिरहेका राईले गत वर्ष मात्र कोगटी बिक्रीबाट ३ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताउनु भयो।

स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने र कृषकहरूलाई प्रोत्साहन गर्ने नीति अनुरूप गाउँपालिकाले विभिन्न कार्यक्रमहरू अघि सारेको छ। गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीका अनुसार, कोगटी खेतीको संरक्षण र विस्तारका लागि पालिकाले धागो कात्ने र हातैले कपडा बुन्ने विशेष सीपमूलक तालिम समेत कृषकहरूलाई उपलब्ध गराउँदै आएको छ।

स्थानीय व्यवसाय प्रवर्द्धनको यो अभियानलाई थप सघाउन यस वर्ष अरुण गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको र उक्त बजेटमार्फत कृषकहरूका लागि आवश्यक मल, उन्नत बीउ र आधुनिक हाते ट्र्याक्टर समेत खरिद गरी वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

अरुण गाउँपालिका वडा नं. ६ का अध्यक्ष गणेश टक्का राईका अनुसार, वडाभित्र पर्ने जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी र चोम्ताङ कोगटी खेतीका लागि मुख्य पकेट क्षेत्र हुन्। हाल यस क्षेत्रका करिब २५ देखि ३० घरधुरी कृषकहरूले यसलाई मुख्य आम्दानीको स्रोत बनाएर व्यावसायिक रूपमा खेती अगाडि बढाइरहेका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *