इटहरी । सुनसरीको इटहरी–२ स्थित त्रिनेत्र मोक्षधाममा आगामी साउन महिनाभर भव्य बोलबम मेला–२०८३ आयोजना हुने भएको छ। भगवान् शिवप्रतिको आस्था प्रवर्द्धन, धार्मिक पर्यटनको विकास तथा भक्तजनको सहभागिता बढाउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो।
शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको अभिभावकत्वमा सञ्चालित १०८ शिवलिङ्ग रहेको त्रिनेत्र मोक्षधामलाई कोशी प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित साउनभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयो।
मोक्षधामको सञ्चालन तथा व्यवस्थापनका लागि त्रिनेत्र मोक्षधाम सेवा समिति गठन गरी इटहरी उपमहानगरपालिकामा विधिवत् दर्ता गरिएको आयोजकले जनाएको छ। समितिका अनुसार नयाँ कार्यविधिअनुसार विधानसहित दर्ता भएको यो पहिलो संस्था हो। तदर्थ समितिले आगामी ६ महिनाभित्र साधारण सभा सम्पन्न गरी नयाँ कार्यसमिति चयन गर्ने तयारीसमेत गरेको छ।
समितिका तदर्थ अध्यक्ष बाबुराम सुवेदीका अनुसार साउन महिनाका प्रत्येक सोमबार विशेष बोलबम मेला सञ्चालन हुनेछ। मेलामा विशेष जलाभिषेक, १०८ शिवलिङ्गमा पूजा–आराधना, शिवमहिमा प्रवचन, भक्ति सङ्गीत, बोलबम यात्रा तथा अन्य धार्मिक कार्यक्रम आयोजना गरिनेछ।
मेला सफल बनाउन २०८३ असार २७ गते बसेको कार्यसमिति तथा सर्वपक्षीय भेलाले मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरेको छ। प्रचारप्रसार समितिको संयोजकमा सञ्चारकर्मी प्रेमप्रसाद बास्तोला तथा सहसंयोजकमा तेज वन चयन भएका छन्। आर्थिक समितिको संयोजकमा रिता मिश्र, भण्डार व्यवस्थापन समितिको संयोजकमा हेमसागर उपाध्याय र सहसंयोजकमा लेखनाथ कोइराला रहेका छन् भने स्वयंसेवक परिचालन समितिको संयोजकको जिम्मेवारी हिरा आचार्यलाई दिइएको छ।
त्रिनेत्र मोक्षधाम सेवा समितिको संरक्षकमा सुभद्रा प्याकुरेल रहेकी छन्। समितिको अध्यक्षमा बाबुराम सुवेदी, उपाध्यक्षमा हिरा आचार्य र कमला खड्का, सचिवमा पण्डित रमेशप्रसाद कोइराला, सहसचिवमा हेमसागर उपाध्याय तथा कोषाध्यक्षमा रिता मिश्र रहेका छन्।
आयोजकले साउनभर सञ्चालन हुने बोलबम मेलामा शिवभक्त, श्रद्धालु तथा सर्वसाधारणलाई सहभागी भई धार्मिक आस्था, आध्यात्मिक चेतना र धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन आग्रह गरेको छ। साउन महिनामा हजारौं भक्तजनको आगमन हुने अपेक्षासहित त्रिनेत्र मोक्षधामलाई पूर्वी नेपालको महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य समितिले लिएको जनाएको छ।














