स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

कोशीमा एचआईभी उपचारमा चुनौती : सीडी–४ परीक्षण अभाव र बिरामीको अनियमित फलोअपले बढायो चिन्ता

विराटनगर । कोशी प्रदेशमा एचआईभी संक्रमितको उपचारमा अत्यावश्यक मानिने सीडी–४ परीक्षण सेवा अभाव र उपचार सुरु गरेका बिरामी नियमित रूपमा स्वास्थ्य संस्थामा नफर्किने प्रवृत्तिका कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ।
विराटनगरमा आयोजित स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा एएचएफ नेपालका एआरटी क्लिनिक अधिकृत केशव बस्नेतले कोशी अस्पतालस्थित एआरटी केन्द्रमा बिरामीको चाप निरन्तर बढिरहेको भए पनि आवश्यक परीक्षण सेवा र उपचारको निरन्तरतामा समस्या देखिएको जानकारी दिए।
उनका अनुसार विराटनगरमा मात्रै २०० भन्दा बढी एचआईभी संक्रमितले नियमित एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका छन्। कोशी अस्पतालस्थित एआरटी केन्द्रमा कोशी प्रदेशका विभिन्न जिल्लाका साथै मधेश, बागमती प्रदेश र भारतबाट समेत बिरामी आउने भएकाले सेवा व्यवस्थापनमा थप दबाब परेको उनले बताए।
बस्नेतका अनुसार उपचार सुरु गरेका धेरै संक्रमित नियमित फलोअपमा नआउँदा उपचारको प्रभावकारिता घट्नुका साथै संक्रमण नियन्त्रणमा समेत असर परेको छ। बिरामीको प्रतिरक्षा प्रणालीको अवस्था मूल्याङ्कन गर्न आवश्यक सीडी–४ परीक्षण सहज रूपमा उपलब्ध नहुँदा उपचारको प्रभावकारिता अनुगमन गर्न कठिनाइ भइरहेको उनले बताए।
उनले एएचएफ नेपालले उपचारमा पहुँच विस्तार गर्न विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। संस्थाले कोशी अस्पतालमार्फत १०२ जनालाई यातायात, ७२ जनालाई खाद्य तथा पोषण, ५६ जनालाई औषधि तथा २९ जनालाई प्रयोगशाला परीक्षणमा सहयोग उपलब्ध गराएको बताए।
बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीडी–४ परीक्षण सेवाको अभाव समाधानका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्ने तथा आवश्यक परे महानगरको स्रोतबाट समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार कोशी प्रदेशमा २ हजार ६२३ जना एआरटी सेवामा आबद्ध छन् भने देशभर २७ हजार ५४ जना उक्त सेवाबाट लाभान्वित भइरहेका छन्। कोशी अस्पतालस्थित एआरटी केन्द्रबाट हाल ७ बालबालिका र ६५० वयस्क गरी ६५७ जनाले नियमित उपचार सेवा लिइरहेका छन्।
बैठकमा सहभागीहरूले नेपाल–भारत सीमावर्ती क्षेत्रमा एचआईभी परीक्षण तथा परामर्श सेवाको पहुँच विस्तार गर्न, सीडी–४ परीक्षण सेवा सहज बनाउन तथा उपचार सुरु गरेका बिरामीलाई नियमित फलोअपमा ल्याउने प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *