सुन्दरहरैचा (मोरङ) : मोरङको सुन्दरहरैचा नगरपालिका–५ स्थित नमुना ऋषिदेव टोलमा मंगलबार राति करिब २ बजे जंगली हात्ती प्रवेश गरी स्थानीयमा त्रास फैलाएको छ। हात्तीले एक स्थानीयको घरसँगै रहेको किराना पसलमा क्षति पुर्याउनुका साथै पसलमा रहेका विभिन्न खाद्य सामग्री खाएको जनाइएको छ।
वडा सदस्य घनश्याम घले गुरुङका अनुसार जंगली हात्तीले घरमा जोडिएको किराना पसलको पराल तथा संरचनामा क्षति पुर्याएको थियो। पसलभित्र रहेका बिस्कुट, चाउचाउ लगायतका खाद्यान्न सामग्री खाएर नोक्सानी गरेको जानकारी प्राप्त भएको उनले बताए।
घटनाका क्रममा हात्ती गाउँभित्र प्रवेश गरेपछि स्थानीयवासी रातभर त्रसित बनेका थिए। भने, मानवीय क्षति भने नभएको र सबै स्थानीय सुरक्षित रहेको वडा सदस्य गुरुङले जानकारी दिएका छन्।
स्थानीयका अनुसार पछिल्लो समय वन क्षेत्र नजिकका बस्तीमा जंगली हात्ती प्रवेश गर्ने घटना बढ्दै गएका छन्। विशेषगरी रातिको समयमा हात्ती बस्तीमा पस्ने, अन्नबाली नष्ट गर्ने, घर तथा पसलमा क्षति पुर्याउने घटनाले स्थानीयवासी चिन्तित बनेका छन्।
वडा कार्यालयले स्थानीयलाई रातिको समयमा विशेष सतर्कता अपनाउन, हात्ती देखिएमा नजिक नजान, भिडभाड नगर्न तथा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ। हात्तीलाई जिस्क्याउने वा एक्लै धपाउने प्रयास नगर्न पनि अनुरोध गरिएको छ।
यस घटनापछि प्रभावित परिवारको क्षतिको विवरण संकलन गर्ने र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिने वडा कार्यालयले जनाएको छ। साथै, वन क्षेत्र आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन र जंगली हात्तीको गतिविधिबारे समयमै सूचना आदान–प्रदान गर्न आग्रह गरिएको छ।
जंगली जनावरको बढ्दो प्रवेशले स्थानीयको जनधनको सुरक्षाप्रति चिन्ता थपिएको भन्दै दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने आवाज पनि उठ्न थालेको छ।














