स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

साउनको पहिलो सोमबार त्रिनेत्र मोक्षधाममा भक्तजनको घुइँचो, ५४३ जना बढीले गरे जल अर्पण

इटहरी । साउनको पहिलो सोमबार देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लागिरहँदा सुनसरीको इटहरी–२ स्थित त्रिनेत्र मोक्षधाममा पनि बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य भीड लागेको छ।

धाममा स्थापित १०८ शिवलिङ्गमा जल अर्पण तथा दर्शन गर्न भक्तजनहरू बिहान ३ बजेदेखि नै पुग्न थालेका थिए। धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको त्रिनेत्र मोक्षधाममा साउन महिनाभर भव्य रूपमा बोलबम मेला सञ्चालन भइरहेको छ।

भक्तजनहरूले १०८ शिवलिङ्गमा जल अर्पण गर्नुका साथै शिव महिमा, भजन–कीर्तन र पूजा–आराधनामा सहभागी भएका थिए। जल अर्पण गर्न आउने श्रद्धालुहरूलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन तथा पूजा गर्न सक्ने गरी सम्पूर्ण व्यवस्थापन गरिएको मोक्षधाम सेवा समितिका अध्यक्ष बाबुराम सुवेदीले जानकारी दिए।

उनका अनुसार धाम स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको बोलबम मेलामा साउनको पहिलो सोमबार बिहान १० बजेसम्म ५४३ जना भक्तजनले जल अर्पण गरी प्रसाद ग्रहण गरेका छन्।

मेलालाई थप व्यवस्थित बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी काम भइरहेको अध्यक्ष सुवेदीले बताए। भक्तजनहरूलाई कुनै पनि असुविधा हुन नदिन स्वयंसेवक परिचालन गर्नुका साथै सुरक्षित आवास, प्रसाद र भोजनको समेत व्यवस्था गरिएको उनले जानकारी दिए।

साउने सोमबार भगवान् शिवको प्रिय महिना र वार मानिने भएकाले पवित्र नदी, कुण्ड वा तलाउबाट ल्याइएको जल शिवलिङ्गमा चढाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका कारण साउनभर देशभरका शिवालयहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गर्दछ।

यता, त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलले त्रिनेत्र मोक्षधामलाई कोशी प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीनै तहका सरकारसँग समन्वय र सहकार्य गर्दै अघि बढिएको बताइन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *