इटहरी । NCC Alumni Association Nepal (NCCAAN) सुनसरी जिल्ला समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत इटहरीस्थित बुढीखोलामा सञ्चालन भइरहेको सन्ध्या आरतीका अवसरमा भक्तजनलाई निःशुल्क पिउने पानी वितरण गरेको छ।
साउन ११ गते सोमबार आयोजित कार्यक्रममा सन्ध्या आरतीमा सहभागी सयौं भक्तजनलाई शुद्ध पिउने पानी वितरण गरिएको समितिले जनाएको छ। धार्मिक कार्यक्रममा सहभागी हुने सर्वसाधारणलाई सहजता प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
कार्यक्रम NCCAAN सुनसरी जिल्ला समितिका उपनिर्देशक रोहन गुप्ताको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्यहरूको सक्रिय र उत्साहजनक सहभागिता रहेको थियो।
समितिले सामाजिक सेवालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य, स्वयंसेवक तथा सहभागीहरूप्रति समितिले हार्दिक आभार व्यक्त गरेको छ।














