काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न स्थानमा देखिएको तनाव र प्रदर्शनको अवस्थालाई मध्यनजर गर्दै मुस्लिम तथा हिन्दु धर्मका अगुवासँग छलफल गरेका छन्।
छलफलका क्रममा लामिछानेले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारालाई कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएका छन्। उनले पछिल्ला घटनाका कारण विभिन्न स्थानमा भइरहेका प्रदर्शन शान्तिपूर्ण ढंगले अन्त्य गर्न तथा कुनै पनि प्रकारको धार्मिक वा सामाजिक द्वन्द्व फैलिन नदिन सबै समुदायलाई सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन्।
उनले धार्मिक अगुवाहरूलाई आफ्ना अनुयायी तथा समुदायमा शान्ति, सद्भाव र सहिष्णुताको सन्देश प्रवाह गर्न अपिल गर्दै कुनै पनि अफवाह वा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।
रास्वपाले वर्तमान परिस्थितिमा सामाजिक एकता र राष्ट्रिय सद्भावलाई प्राथमिकता दिँदै सबै पक्षलाई संयम, संवाद र सहकार्यमार्फत समस्या समाधानतर्फ अघि बढ्न आह्वान गरेको छ।














