इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–१६ बालग्राम अन्तर्गत खनार सेवा केन्द्रले सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार आयोजित कार्यक्रम सेवा केन्द्र संयोजक प्रेमचन्द्र रौतार थारुको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उपसमिति सदस्य रामसागर चौधरीको विशेष उपस्थिति रहेको थियो भने सेवा केन्द्र प्रमुख नवराज पोखरेलले कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रम सफल बनाउन सेवा केन्द्रका सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहयोग रहेको संस्थाले जनाएको छ।
कार्यक्रममा ४८ जना सदस्यहरूको सहभागिता रहेको थियो। सहभागी सदस्यहरूलाई सहकारीका विभिन्न बचत योजनाहरू, मोबाइल बैंकिङ तथा एटीएम सेवा, धितो ऋण तथा जमानत बचतको ब्याजदर, राहत सेवाका विशेषता, शेयर वृद्धि गर्ने प्रक्रिया र यसको महत्व, KYM (Know Your Member) अद्यावधिक तथा सहकारीका अन्य सेवा–सुविधा, सदस्यका अधिकार र दायित्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
सदस्यहरूलाई सहकारीप्रति थप जिम्मेवार, सचेत र सक्रिय बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम फलदायी रहेको संस्थाको भनाइ छ। कार्यक्रममार्फत सदस्यहरूलाई आधुनिक बैंकिङ सेवा, बचत तथा ऋण व्यवस्थापन र सहकारी शिक्षाबारे व्यवहारिक जानकारी दिइएको थियो।
कार्यक्रमको सफलताका लागि सक्रिय सहभागिता जनाउने सम्पूर्ण सदस्यहरूप्रति किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
सहकारीले “सहकारी बचतमा हाम्रो किसान : समृद्ध समाज एउटै अभियान” भन्ने मूल नारालाई आत्मसात गर्दै सदस्यमुखी सेवा र वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।














