काठमाडौं । आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र लज्जावती को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् ‘खिर खाने दिन’को अवसर पारेर काठमाडौंमा आयोजित विशेष समारोहबीच निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।
निर्देशक राजबहादुर साने को निर्देशनमा बनेको फिल्मले प्रेमका मिठा पलदेखि जीवनले ल्याउने अनपेक्षित उतारचढावसम्मको भावनात्मक कथा प्रस्तुत गरेको छ। परम्परागत शैलीभन्दा केही फरक ढंगले तयार गरिएको ट्रेलरले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाएको छ।
ट्रेलरमा दुई प्रेमिल जोडीको कथा देखाइएको छ। सुरुवातमा आत्मीय सम्बन्ध, प्रेम र खुसीका क्षण देखिए पनि समयसँगै अभाव, सामाजिक दबाब र जीवनका कठिन परिस्थितिले उनीहरूको सम्बन्धमा आउने परिवर्तनलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।
फिल्ममा श्रीकृष्ण निरौला र मेनुका माझी एक जोडीका रूपमा देखिएका छन् भने मुकुन भुसाल र जानुका विश्वकर्मा अर्को प्रेमिल जोडीका रूपमा प्रस्तुत भएका छन्। ट्रेलरमा विशेषगरी श्रीकृष्ण र मेनुकाको प्रेम, बिछोड, धोका र संघर्षलाई केन्द्रमा राखिएको छ।
फिल्ममा धीरेन शाक्य, हिउँवाला गौतम, विशाल पहारी, केशव रिजाल, प्रिया रिजाल, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
निर्देशक सानेका अनुसार ‘लज्जावती’ ले आम मानिसको जीवन, प्रेम र संघर्षलाई यथार्थपरक ढंगले चित्रण गरेको छ, जसले दर्शकलाई आफ्नै जीवनको कथा सम्झाउने विश्वास निर्माण पक्षले लिएको छ।
आहा फिल्म्स प्रालिको प्रस्तुति रहेको यस फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। दिव्यराज सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर प्रदर्शन गर्नेछ।














