इटहरी । नेपाली संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लियो क्लब अफ तरहरा इटहरी र लियो क्लब अफ इटहरी एक्टिभको संयुक्त आयोजनामा साउन १५ (खिर खाने पर्व) को अवसरमा भोइस अफ चिल्ड्रेन, इटहरीमा खिर वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत आश्रित बालबालिकालाई खिर खुवाउँदै खिर खाने पर्वको महत्व, नेपाली मौलिक संस्कृति तथा सामाजिक सेवाको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।
लियो क्लब अफ तरहरा इटहरीका नवनिर्वाचित अध्यक्ष युगल बजगाईँले नेपाली संस्कृतिको संरक्षणसँगै समाजका आवश्यकता भएका वर्गसम्म सेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, भोकमरी न्यूनीकरण तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
कार्यक्रममा दुवै क्लबका पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकले आगामी दिनमा पनि यस्ता संस्कृतिमूलक तथा सेवामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै समाजप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।














