इटहरी। श्रावण १५ (खीर खाने पर्व) को पावन अवसरमा JCI Itahari Lady Junior को आयोजनामा मायाघर नेपाल, इटहरीमा खीर वितरण कार्यक्रम गरेको छ।
संस्थाकी अध्यक्ष दिव्या दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मायाघर नेपाल, इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेल प्रमुख अतिथिका रूपमा तथा JCI Area ‘A’ का संयोजक सनम खतिवडा (राजा) विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा मायाघरमा आश्रित परिवारलाई खीर वितरण गर्नुका साथै स्नेहभोजको आयोजना गरिएको थियो। सहभागीहरूले मायाघरका परिवारसँग खुसी, आत्मीयता र सेवाको भावना साटासाट गर्दै श्रावण १५ को पर्वलाई विशेष रूपमा मनाएका थिए।
प्रमुख अतिथि सुभद्रा प्याकुरेलले सामाजिक संघ–संस्थाले आयोजना गर्ने यस्ता सेवामूलक कार्यक्रमले मायाघरका परिवारमा अपनत्व र हौसला थप्ने बताउँदै आयोजकप्रति आभार व्यक्त गर्नुभयो।

अध्यक्ष दिव्या दाहालले समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले JCI Itahari Lady Junior ले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमले सेवा, सद्भाव र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।














