सुनसरी | सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका अति संवेदनशील मानिएका क्षेत्रहरूमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा (निषेध आदेश) जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मिति २०८३ साउन १२ गते राति ९:०० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
आज बिहान ०८:३० बजेदेखि साँझ १७:०० बजेसम्मका लागि उक्त कर्फ्यु हटाएर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम ५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित सूचना अनुसार शान्ति सुरक्षा र सद्भाव कायम राख्न तपसिल बमोजिमका स्थानहरूमा निषेध आदेश लागू गरिएको हो:
इटहरी उपमहानगरपालिका: वडा नं. १६ र १७ क्षेत्र अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ-बायाँ क्षेत्र
रामधुनी नगरपालिका: वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ-बायाँ क्षेत्र
इनरुवा नगरपालिका: सम्पूर्ण क्षेत्र
दुहबी नगरपालिका: सम्पूर्ण क्षेत्र
भोक्राहा नरसिंह गाउँपालिका: सम्पूर्ण क्षेत्र
कोशी गाउँपालिका: सम्पूर्ण क्षेत्र
गढी गाउँपालिका: सम्पूर्ण क्षेत्र
देवानगंज गाउँपालिका: सम्पूर्ण क्षेत्र
हरिनगर गाउँपालिका: सम्पूर्ण क्षेत्र
बर्जु गाउँपालिका: सम्पूर्ण क्षेत्र
तोकिएका स्थानहरूमा ५ जनाभन्दा बढी मानिसहरू भेला हुन, जुलुस वा प्रदर्शन गर्न तथा सभा-बैठक गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

प्रशासनले सबै पक्षलाई नियमको पालना गरी शान्ति सुव्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।













