भोजपुर । जिल्ला खेलकुद विकास समिति भोजपुरका नवनियुक्त पदाधिकारीहरूले सोमबार पदभार ग्रहण तथा सपथ ग्रहण गरेका छन्।
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूले पदभार ग्रहणसँगै सपथ लिएका हुन्।
समितिको अध्यक्षमा देउप्रकाश राई, उपाध्यक्षमा सुनाकला तामाङ तथा सदस्यहरूमा दानप्रसाद राई, देशराज तामाङ ,लक्ष्मण जोशी, तारा बुढाथोकी मगर, बालकुमारी तामाङ र शकुन्तला राई रहेका छन्। सचिव तथा कार्यालय प्रमुख गेल्जेन शेर्पाले उक्त जानकारी दिएका हुन्।
भोजपुरमा ब्याड्मिन्टन खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका दानबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न खेल सङ्घ–संस्था, राजनीतिक दलका प्रतिनिधि तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा फुटबल सङ्घ कोशी प्रदेशका उपाध्यक्ष तथा नेपाली कांग्रेस भोजपुरका सचिव सफल किराँतीले नवनियुक्त पदाधिकारीहरूलाई बधाई दिँदै जिल्लामा खेलकुदको विकास, प्रतिभावान खेलाडी उत्पादन र खेल पूर्वाधार विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
त्यस्तै, नेकपा (एमाले) भोजपुरका अध्यक्ष मक्कर खड्काले खेलकुदको दीर्घकालीन विकासका लागि स्थानीय तह, प्रदेश सरकार, खेल सङ्घ तथा सम्पूर्ण सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
नवनियुक्त अध्यक्ष देउप्रकाश राईले सबै पक्षसँग समन्वय र सहकार्य गर्दै जिल्लाको खेलकुद क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले प्रतिभावान खेलाडीका लागि दक्ष प्रशिक्षक, नियमित प्रशिक्षण र प्रतियोगितामा सहभागिताको अवसर सुनिश्चित गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्ने बताए।














