ऐजेन्सी | इन्डोनेसियामा एक ४५ वर्षीय पुरुषले आफूलाई लामो समयदेखि ‘किन विवाह नगरेको?’ भनेर बारम्बार जिस्क्याउने ६० वर्षीय छिमेकीको हत्या गरेका छन्।
उत्तर सुमात्राको दक्षिण तापनुली जिल्लामा भएको घटनामा मृतक असगिम इरियान्तो सेवानिवृत्त निजामती कर्मचारी रहेका थिए।
प्रहरीका अनुसार जुलाई २९ को राति आक्रमणकारी पर्लिन्डुङ्गन सिरेगर काठको टुक्रा लिएर असगिमको घर पुगेका थिए। उनले अचानक आक्रमण गरेपछि असगिम ज्यान बचाउन सडकतर्फ भागेका थिए। तर सिरेगरले पछ्याउँदै टाउकोमा प्रहार गरे र उनी ढलेपछि पनि कुटपिट जारी राखेका थिए।
स्थानीयले हस्तक्षेप गरी असगिमलाई अस्पताल पुर्याए पनि उपचारअघि नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटना भएको करिब एक घण्टाभित्रै प्रहरीले सिरेगरलाई पक्राउ गरेको थियो।
सोधपुछका क्रममा सिरेगरले छिमेकीले ‘किन अहिलेसम्म बिहे नगरेको?’ भनेर पटक–पटक जिस्क्याउने गरेकाले आफू निकै आक्रोशित भएको र ज्यान मार्ने उद्देश्यले नै आक्रमण गरेको स्वीकार गरेका छन्।

प्रहरीका अनुसार यसअघि पनि दुवै छिमेकीबीच एकअर्काको खोरमा कुखुरा पसेको विषयलाई लिएर विवाद हुने गरेको थियो।













