स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

नेपथ्यको इटहरी कन्सर्टमा विद्यार्थीलाई विशेष अफर, अर्ली बर्ड टिकट १ हजारमै

इटहरी । लोकप्रिय नेपाली ब्याण्ड नेपथ्य ले आगामी कार्तिक १८ गते इटहरीमा पहिलोपटक भव्य सांगीतिक प्रस्तुति दिने भएको छ। कोशी प्रदेशका विभिन्न जिल्लामा सफल प्रस्तुति दिँदै आएको नेपथ्यले यसपटक इटहरी रङ्गशालामा आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने तयारी गरेको हो।

कार्यक्रमको आयोजना पूर्वाञ्चल इभेन्ट्स प्रालि. ले दुर्गा पार्टी प्यालेस सँगको सहकार्यमा गर्न लागेको हो। आयोजक तथा दुर्गा पार्टी प्यालेसका प्रबन्धक राजकुमार कार्की का अनुसार कार्यक्रमको सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको छ।

कार्यक्रमका लागि इटहरी–४, आइतबारेस्थित दुर्गा पार्टी प्यालेसमा सचिवालय सञ्चालनमा आइसकेको छ भने टिकटको प्रि–बुकिङ पनि सुरु भइसकेको छ।

आयोजकले विद्यार्थी तथा अर्ली बर्ड अफरअन्तर्गत टिकटमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ। सामान्य टिकटको मूल्य १ हजार ५०० रुपैयाँ निर्धारण गरिए पनि विद्यार्थी र अर्ली बर्ड अफरअन्तर्गत १ हजार रुपैयाँमै टिकट उपलब्ध गराइएको कार्कीले जानकारी दिए।

“हामीले टिकटको नियमित मूल्य १ हजार ५०० रुपैयाँ तोकेका छौं। तर विद्यार्थी र अर्ली बर्ड अफरअन्तर्गत १ हजार रुपैयाँमै टिकट उपलब्ध गराइरहेका छौं। यो अफर केही दिनका लागि मात्र रहनेछ,” कार्कीले बताए।

उनका अनुसार कार्यक्रमको प्रचारप्रसार, व्यवस्थापन र प्राविधिक तयारीलाई तीव्र बनाइएको छ। सुनसरीसहित पूर्वी नेपालमा नेपथ्यका प्रशंसकको संख्या उल्लेख्य रहेकाले कार्यक्रम भव्य हुने अपेक्षा गरिएको छ। आयोजकले छिमेकी भारतका सिक्किम र दार्जिलिङबाट समेत दर्शक सहभागी हुने विश्वास व्यक्त गरेको छ।

गायक अमृत गुरुङ को नेतृत्वमा रहेको नेपथ्य नेपाली सांगीतिक क्षेत्रको अग्रणी ब्याण्डमध्ये एक हो। आफ्ना मौलिक, सामाजिक सन्देश बोकेका तथा लोकप्रिय गीतमार्फत नेपथ्यले नेपालसँगै विश्वभर रहेका नेपाली दर्शकमाझ विशेष पहिचान बनाएको छ। इटहरीको यो प्रस्तुति पूर्वी नेपालका संगीतप्रेमीका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *