इटहरी/ आउँदो साउन २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘लज्जावती’ को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार युट्युबमार्फत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको वियोगान्त तथा मर्मस्पर्शी गीत रिलिज गरेको हो । गायक थानेश्वर गौतमको स्वर रहेको यस गीतका शब्द भीम कुमार ओझाले कोरेका हुन् भने सन्तोष बिसीको संगीत र नारायण दंगालको संगीत संयोजन रहेको छ ।
सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकारहरू मेनुका माझी र श्रीकृष्ण निरौलाको प्रेम र विछोडपछिको कारुणिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । प्रेमिकाले छोडेपछि विक्षिप्त बनेका प्रेमीको भूमिकामा श्रीकृष्ण निरौलाको भावुक अभिनय देख्न सकिन्छ । हरेक ठाउँमा आफ्नी प्रेमिकालाई मात्र देख्ने पागलप्रेमीझैं बनेर उनी हराएपछि, कलाकार मुकुन भुसाल र जानुका विश्वकर्माले उनलाई खोजिरहेको दृश्यले दर्शकको मन छुन्छ । हेर्नुस् भिडियो ।
यसअघि सार्वजनिक भएको फिल्मको पहिलो गीत ‘दिलको मोटर’ ले यतिखेर टिकटक र फेसबुक रिल्समा निकै चर्चा बटुलिरहेको छ । निर्माण पक्षका अनुसार सार्वजनिक ट्रेलर र पहिलो गीतले दर्शकमाझ राम्रो हाइप बनाएको छ । यसै सफलतालाई निरन्तरता दिँदै यो दोस्रो मर्मस्पर्शी गीतले पनि दर्शकको पूर्ण साथ पाउने अपेक्षा निर्माण टिमको छ । यो फिल्मको मुख्य कलाकारहरूमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेल रहेका छन् ।
आहा फिल्म्स प्रालिको प्रस्तुति रहेको यस फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् । फिल्मलाई कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकायाले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता दिनेश बुढाथोकी रहेका छन् । दिव्यराज सुवेदीको छायांकन रहेको फिल्मलाई तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका छन् भने द्वन्द्व निर्देशनको जिम्मा देव महर्जनले सम्हालेका छन् । यस फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्दैछ । प्रेम, विछोड र संघर्षको कथा बोकेको ‘लज्जावती’ ले साउन २९ गतेदेखि दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ ।
TRAILER Link : https://youtu.be/U83p6kyaOs0














