काठमाडौं । देशभरका चलचित्र हलहरूमा शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्र ‘कमला मिस’ र ‘हली’ प्रदर्शनमा आएका छन्। फरक विषयवस्तु र सामाजिक सन्देश बोकेका यी दुवै चलचित्रले दर्शकमाझ उत्साहका साथ प्रदर्शन सुरु गरेका हुन्।
निर्देशक निर शाहको निर्देशनमा बनेको ‘कमला मिस’ साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित भएर निर्माण गरिएको चलचित्र हो। चलचित्रले शिक्षा, समाज र मानवीय सम्बन्धका विविध पक्षलाई कथावस्तु बनाएको छ।
यस चलचित्रमा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुङ्गेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।
यता निर्देशक ओम प्रतिकको ‘हली’ ले नेपाली समाजमा अझै विद्यमान छाउपडी प्रथाका कारण महिलाले भोग्नुपरेका पीडा, संघर्ष र सामाजिक यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको छ।
‘हली’मा प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक (गुरुङ), सरोज खनाल, अरूणा कार्की, अर्जुन गुरुङ, विद्या कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।
फरक कथावस्तु र सामाजिक सन्देश बोकेका यी दुवै चलचित्रले नेपाली चलचित्रप्रेमी दर्शकमाझ कस्तो प्रतिक्रिया पाउनेछन् भन्ने चासो बढेको छ।














