इटहरी । कोशी प्रदेश सरकारले सुन्दरहरैँचा नगरपालिकाको प्रशासकीय केन्द्र स्थानान्तरण गर्ने नगरसभाको सिफारिसलाई स्वीकृति दिएको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हाल सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको प्रशासकीय केन्द्रलाई वडा नम्बर–८, साविक मृगौलिया–९ मा सार्ने प्रस्ताव अनुमोदन गरेको हो। आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपका अनुसार नगरसभाबाट गरिएको सिफारिसलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको हो।
बैठकले प्रदेश सरकारअन्तर्गत स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन नियमावलीका लागि प्रदेश लोक सेवा आयोगको परामर्श माग्ने निर्णय पनि गरेको छ। साथै, प्रदेश युवा परिषद्सम्बन्धी विधेयक तर्जुमा गर्न आवश्यक अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरिएको छ।
त्यसैगरी, मन्त्रिपरिषद्ले वृद्धिमुखी कार्यान्वयन कार्यविधि तथा रोजगार प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ खारेज गर्ने निर्णयसमेत गरेको छ।
यसैबीच, कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी (झापा) को कार्यकारी निर्देशकमा इटहरी उपमहानगरपालिका–४ निवासी अनिता गुरागाईंलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ। नियुक्तिपश्चात् मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुरागाईंलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।














