इटहरी । रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि इटहरी सुनसरी लियो क्लबले सञ्चालन गरेको ‘Leo Solidarity Program – Rebuild Rasuwa’ अभियानबाट संकलित रु. ३८ हजार ३५२ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

क्लबले इटहरीको संगित चोकमा ‘लस्सी वितरण तथा सहयोग संकलन अभियान’मार्फत संकलन गरेको रकममा कुनै कटौती नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको जनाएको छ।

इटहरी सुनसरी लियो क्लबका अध्यक्ष रेवस बास्तोलाका अनुसार, अभियानका क्रममा संकलित सम्पूर्ण रु. ३८ हजार ३५२ रकम कोषमा जम्मा भइसकेको हो। अभियान सञ्चालनका क्रममा लाग्ने सम्पूर्ण व्यवस्थापन खर्च भने क्लबका वर्तमान, तत्कालीन तथा पूर्वअध्यक्षहरूले व्यक्तिगत रूपमा व्यहोरेको उनले जानकारी दिए।

“सानो योगदानले पनि विपद्मा परेका नागरिकका लागि ठूलो आशा जगाउन सक्छ भन्ने उद्देश्यले अभियान सञ्चालन गरेका हौँ,” अध्यक्ष बास्तोलाले भने, “सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा शुभेच्छुकप्रति क्लब आभारी छ।”

लायन्स इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ ‘C’ अन्तर्गत लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ ‘C’को ‘Together We Rise’ अभियानअन्तर्गत आयोजित कार्यक्रम भदौ १९ गते इटहरीको संगीत चोकमा सञ्चालन गरिएको थियो। अभियानमा इटहरी सुनसरी लियो क्लब आयोजक तथा लायन्स क्लब अफ इटहरी सुनसरीको सहयोग रहेको थियो।

Smart

तपाईको प्रतिक्रिया