धरान । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त भएको सुनसरीको धरानस्थित पुतलीलाइनको भाटभटेनी सुपर स्टोर एक वर्षपछि पुनः सञ्चालनमा आएको छ।

पुनः सञ्चालनअघि स्टोर परिसरमा वैदिक परम्पराअनुसार पूजा गरिएको थियो। भाटभटेनीकी सञ्चालक सावित्री घले गुरुङले पूजा गरेपछि स्टोरको पुनः शुभारम्भ गरिएको व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए।

२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा रहेका भाटभटेनीका स्टोरहरू तोडफोड, लुटपाट तथा आगजनीको निशानामा परेका थिए। सो क्रममा धरानको पुतलीलाइनस्थित स्टोरमा समेत आगजनी हुँदा भवन, सामान तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेपछि स्टोर बन्द गरिएको थियो।

जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका धरान, विराटनगर, बिर्तामोड र दमकस्थित भाटभटेनीका शाखा प्रभावित भएका थिए। विराटनगर र बिर्तामोड शाखा मर्मत तथा पुनर्निर्माणपछि यसअघि नै सञ्चालनमा आइसकेका छन्। धरान शाखा बुधबारदेखि सञ्चालनमा आएसँगै कोशी प्रदेशमा क्षति पुगेका चारमध्ये तीनवटा शाखा पुनः सञ्चालनमा आएका छन्।

दमक शाखाको पुनर्निर्माण भने अन्तिम चरणमा पुगेको व्यवस्थापक भट्टराईले बताए। उनका अनुसार उक्त शाखालाई पनि चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

यस्तै, काठमाडौंको नक्सालस्थित भाटभटेनीको मुख्य स्टोर पनि यही असोजमा सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ। आन्दोलनका क्रममा क्षति पुगेका अन्य शाखाको पुनर्निर्माणसमेत जारी रहेको कम्पनीको भनाइ छ।

भाटभटेनीका देशभर २७ शाखा छन्। तीमध्ये हालसम्म २३ वटा शाखा सञ्चालनमा आएका छन्। जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा शाखा पूर्ण रूपमा जलेका थिए भने कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको जनाएको छ।

Smart

तपाईको प्रतिक्रिया