इटहरी । हरितालिका तिजको अवसर पारेर जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले इटहरी–४ स्थित निःसहाय बालबालिका आश्रममा आश्रित बालबालिकालाई एक छाक खाना खुवाएको छ।
संघले तिजलगायत विभिन्न अवसरमा गरिने औपचारिक तथा अन्य कार्यक्रमको खर्चलाई सामाजिक तथा मानवीय सेवामा लगाउँदै आएको जनाएको छ। सोही अभियानअन्तर्गत आश्रममा रहेका बालबालिकालाई भोजन गराइएको हो। संघका अध्यक्ष तेजबहादुर पुरीको अध्यक्षता तथा होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष मणिन्द्रबहादुर कट्वालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कट्वालले निःसहाय बालबालिका आश्रममा पुगेर सहयोग गर्नु मानवीय दायित्व भएको बताए। उनले आश्रममा आश्रित बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पालनपोषणका लागि सामाजिक संघसंस्था तथा व्यवसायीहरूले निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिए।
नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति तथा आश्रम भवन निर्माण समितिका उपाध्यक्ष दिनेश भट्टराईले संघले गर्दै आएको सामाजिक कार्यको प्रशंसा गरे। उनले आश्रममा आश्रित बालबालिकाको संख्या तथा आवश्यकताका कारण हालको भवन साँघुरो हुँदै गएको बताउँदै नयाँ भवन निर्माणको काम भइरहेको जानकारी दिए। भवन निर्माणमा सहयोग गर्न उनले सबैलाई आग्रह गरे।
आश्रमकी संस्थापक सञ्चालिका गीता गौतमले मनकारी संघसंस्था, व्यवसायी तथा समाजसेवीहरूको सहयोगकै कारण आश्रम सञ्चालन हुँदै आएको बताइन्। बालबालिकाको भविष्य सुरक्षित बनाउन निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
संघका अध्यक्ष तेजबहादुर पुरीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर संघले मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए। समाजमा रहेका असहाय तथा विपन्न वर्गका लागि सबैले हातेमालो गरेर सहयोग गर्न सके आश्रमलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन सकिने उनले बताए।
संघका वरिष्ठ उपाध्यक्ष केशव गिरीको संयोजनमा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संघका महासचिव कृष्ण पराजुलीले गरेका थिए।
संघले केही दिनअघि धरानस्थित सरस्वती बाल आश्रममा समेत एक छाक खाना खुवाएको थियो। यसैगरी, भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि होटल तथा पर्यटन व्यवसायी महासंघमार्फत २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको जनाएको छ।
संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।







