नुवाकोट । नेपाल तरुण दलका अध्यक्ष मनिष कोइरालाको नेतृत्वमा नुवाकोटको देवीघाट क्षेत्रमा दोस्रो दिन पनि राहत, उद्धार तथा सरसफाइ अभियान जारी रहेको छ।
पर्सा जिल्ला अध्यक्ष बाल्मिकी यादवसहित विभिन्न जिल्लाका अध्यक्ष तथा तरुण स्वयंसेवकहरूको सहभागितामा विपद् प्रभावित क्षेत्रमा मानवीय सहायता र सरसफाइ अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत बाढी तथा पहिरोबाट प्रभावित विद्यालय, अस्पताल तथा सार्वजनिक स्थललाई प्राथमिकतामा राखेर सरसफाइ तीव्र पारिएको छ। तरुण स्वयंसेवकहरू प्रभावित नागरिकको घरदैलोमा पुगेर राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सक्रिय छन्।
विपद्को कठिन परिस्थितिमा पीडित नागरिकलाई तत्काल सहायता पुर्याउने उद्देश्यले स्वयंसेवकहरूलाई परिचालन गरिएको नेपाल तरुण दलले जनाएको छ। सेवा, समर्पण र मानवीय सहयोगको भावनासहित सञ्चालन भइरहेको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाउने तरुण दलले जनाएको छ।







