इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशन तथा असोज ७ गते हुने पालिका अधिवेशनको मिति नजिकिएसँगै इटहरीमा कांग्रेसको आन्तरिक राजनीतिक सरगर्मी बढेको छ। स्थानीय नेता तथा कार्यकर्ताहरू छलफल, भेटघाट र उम्मेदवारी तयारीमा सक्रिय भएका छन्।
यसैबीच इटहरी उपमहानगरपालिका कांग्रेस सभापतिका लागि विकास केसीको दाबी बलियो बन्दै गएको बताइएको छ। केसी निकट स्रोतका अनुसार उनलाई वर्तमान नगर सभापति एवं इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल तथा नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको समेत समर्थन रहेको छ।
केसीलाई नगर सभापतिमा सर्वसम्मत गराउने प्रयाससमेत अघि बढाइएको स्रोतको दाबी छ। त्यसका लागि स्थानीय नेतृत्वसँगै पार्टीका माथिल्लो तहका नेताहरूसँग समेत छलफल र समन्वय भइरहेको बताइएको छ।
वडा अधिवेशनदेखि पालिका अधिवेशनसम्म पार्टीभित्रको एकता कायम गर्दै नेतृत्व चयन गर्ने उद्देश्यले विभिन्न पक्षबीच छलफल तीव्र पारिएको छ। आगामी दिनमा उम्मेदवारीको औपचारिक घोषणा र नेतृत्व चयनको समीकरण थप स्पष्ट हुँदै जाने देखिएको छ।







