इटहरी । बीपी कोइरालाको ११३औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन सुनसरीले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र बीपी कोइराला’ विषयक विशेष कार्यक्रम सम्पन्न गरेको छ। युनियनले बीपी कोइरालाको राजनीतिक, साहित्यिक तथा लोकतान्त्रिक योगदानसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानलाई स्मरण गर्दै कार्यक्रम आयोजना गरेको हो।

इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा प्रमुख अतिथि गुरुराज घिमिरे, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य राजीव कोइराला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बीपी कोइरालाको विचार, लोकतन्त्रप्रतिको प्रतिबद्धता तथा स्वतन्त्र प्रेसका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा वक्ताका रूपमा डा. जगत नेपाल र डा. आनन्द आचार्यले बीपी कोइरालाको राजनीतिक तथा वैचारिक योगदान, लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिका र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँगको सम्बन्धका विषयमा आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण बिनय बाहकोटीले गर्नुभएको थियो।

सो अवसरमा ‘कोशी–गन्तव्य अनुभव र सम्भावना’ पुस्तकसमेत प्रमुख अतिथि गुरुराज घिमिरे, राजीव कोइराला लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष मातृका प्रसाद नेपालले गर्नुभएको थियो। उहाँले बीपी कोइरालाको विचार र योगदानलाई केवल जन्मजयन्तीका अवसरमा स्मरण गर्नेभन्दा पनि त्यसलाई निरन्तर बहस र छलफलको विषय बनाउनुपर्ने बताउनुभयो।

नेपाल प्रेस युनियन सुनसरीले आगामी दिनमा पनि बीपी कोइरालाका विचार, लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारितासँग सम्बन्धित विषयमा नियमित रूपमा कार्यक्रम तथा छलफल गर्दै जाने जनाएको छ। यस्ता कार्यक्रममार्फत पत्रकार तथा नयाँ पुस्तालाई बीपी कोइरालाको लोकतान्त्रिक चिन्तन र योगदानबारे जानकारी गराउने तथा समसामयिक सन्दर्भमा उहाँका विचारको महत्त्वबारे बहस गर्ने उद्देश्य रहेको युनियनले जनाएको छ।

कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। वक्ताहरूले लोकतन्त्रको संस्थागत विकासका लागि स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रले सत्य, तथ्य र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

Smart

तपाईको प्रतिक्रिया