सुन्दरहरैंचा(मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि आगामी असोज ४ गतेदेखि निर्वाचन तथा अधिवेशन प्रक्रिया प्रारम्भ हुने मिति सार्वजनिक भएसँगै देशभर पार्टीका विभिन्न तहमा नेतृत्वका आकांक्षीहरूको चर्चा सुरु भएको छ। यसैक्रममा मोरङको बेलबारी नगरपालिकामा पनि नगर सभापतिको नेतृत्वका लागि सम्भावित उम्मेदवारहरूको चर्चा बढ्न थालेको छ।
बेलबारीमा नेपाली कांग्रेसको नगर सभापति पदका लागि राजेश खत्रीले उम्मेदवारी दिने तयारी गरेसँगै पार्टीभित्र उनको नाम चर्चामा आएको हो।
पार्टी संगठनमा लामो समयदेखि सक्रिय खत्रीले यसअघि नेपाली कांग्रेस बेलबारी नगर समितिको सचिवको जिम्मेवारी सम्हालिसकेका छन्। १४औँ महाधिवेशनबाट उनी नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ का क्षेत्रीय सचिवमा निर्वाचित भएका थिए। उनी हाल बीपी अध्ययन प्रतिष्ठान, मोरङ क्षेत्र नं. ३ का सभापतिसमेत हुन्।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका खत्रीले नेपाल विद्यार्थी संघको जिल्ला सदस्य तथा सुकुना बहुमुखी क्याम्पस इकाइ उपसभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। सामाजिक क्षेत्रमा पनि सक्रिय उनी बेलबारी जेसीजका सन् २०२० का अध्यक्ष समेत भइसकेका हुन्।
पार्टी, राजनीति, शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय खत्री कांग्रेसभित्र बौद्धिक, अध्ययनशील र संगठनप्रति प्रतिबद्ध व्यक्तित्वका रूपमा परिचित रहेको उनका समर्थकहरू बताउँछन्। उनले काठमाडौं विश्वविद्यालयबाट एमफिल तहको अध्ययनसमेत गरेका छन्।
स्थानीय तहदेखि क्षेत्रीय तहसम्म पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका खत्रीले नगर सभापतिमा उम्मेदवारी दिने तयारी गरेसँगै बेलबारी कांग्रेसका नेता तथा कार्यकर्ताबीच नेतृत्व चयनको बहस थप चासोको विषय बनेको छ।
पार्टीभित्रका केही नेता–कार्यकर्ताले युवा, ऊर्जाशील तथा बौद्धिक पृष्ठभूमिका नेतृत्वले संगठनलाई थप गतिशील र प्रभावकारी बनाउन सक्ने धारणा व्यक्त गरेका छन्।
पछिल्लो समय जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेश तथा नयाँ पुस्ताका अपेक्षालाई समेत सम्बोधन गर्ने उद्देश्यले आफू नेतृत्वको दौडमा अघि बढ्न लागेको खत्रीको भनाइ छ। पार्टी संगठनलाई समयअनुकूल, थप प्रभावकारी र जनमुखी बनाउँदै युवापुस्ताको विश्वास जित्ने गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको धारणा रहेको बताइएको छ।
नेपाली कांग्रेसको नगर अधिवेशन नजिकिँदै जाँदा बेलबारीमा सभापति पदका आकांक्षीहरूको चर्चा थप बढ्ने देखिएको छ। यसैबीच पार्टी संगठनमा लामो अनुभव, विद्यार्थी राजनीतिदेखिको यात्रा, सामाजिक सक्रियता र अध्ययनशील पृष्ठभूमिका कारण राजेश खत्री नगर सभापतिको दौडमा बलियो सम्भावित उम्मेदवारका रूपमा देखिन थालेका छन्।
आगामी अधिवेशनमा नेतृत्व चयनको समीकरण कस्तो बन्छ भन्ने विषय अहिले नै निश्चित नभए पनि खत्रीको सम्भावित उम्मेदवारीले बेलबारी कांग्रेसको आन्तरिक राजनीति र आगामी नगर नेतृत्वको बहसलाई थप रोचक बनाउने देखिएको छ।







