सुन्दरहरैंचा(मोरङ) : आफ्ना दिवंगत आफन्तको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै मोरङको सुन्दरहरैंचा–५ र ६ को बीचमा पर्ने तीनपैनीस्थित भानु साझा पुस्तकालय परिसरमा सुन्दरहरैंचा – ६ का निरौला परिवारले पिउने पानीको धारा निर्माण गरी हस्तान्तरण गरेको छ। आइतबार बिहान आयोजित एक कार्यक्रमबीच निरौला परिवारले निर्माण गरेको धारा भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खालाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

निरौला परिवारले आफ्ना दिवंगत बुवा स्व. चुडाबहादुर निरौला, आमा स्व. ठगमाया निरौला, स्व. तेजबहादुर निरौला र स्व. लिला बहादुर निरौलाको पुण्य स्मृतिमा उक्त धारा निर्माण गरेको हो। स्मृति शिलालेखमा उल्लेख भएअनुसार धारा निर्माणमा विष्णुमाया निरौला, दिलबहादुर निरौला, शान्ता निरौला तथा समस्त निरौला परिवारको योगदान रहेको छ।

सार्वजनिक स्थलमा आउने सर्वसाधारण, पुस्तकालयका पाठक, विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई पिउने पानीको सहज सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको धाराले पुस्तकालय परिसरको आवश्यकता पूरा गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

धारा हस्तान्तरण कार्यक्रममा बोल्दै भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खाले दिवंगत आफन्तको सम्झनालाई सामाजिक सेवामार्फत जीवन्त बनाउने निरौला परिवारको पहल प्रशंसनीय रहेको बताए। उनले पुस्तकालयजस्तो सार्वजनिक संस्थाको परिसरमा निर्माण गरिएको धारा सबैका लागि उपयोगी हुने भन्दै निरौला परिवारप्रति धन्यवाद व्यक्त गरे।

उनले भने, “आफन्तको सम्झनामा गरिने कार्यलाई सामाजिक हितसँग जोड्न सकियो भने त्यसले दिवंगत व्यक्तिको स्मृतिलाई अझ अर्थपूर्ण बनाउँछ। पुस्तकालयमा आउने धेरै व्यक्तिका लागि यो धारा उपयोगी हुनेछ।”

त्यस्तै, तीनपैनी बजार व्यवस्थापन समितिका अध्यक्ष भुपाल श्रेष्ठले दिवंगत आफन्तको सम्झनामा सार्वजनिक उपयोगका लागि संरचना निर्माण गर्नु अनुकरणीय सामाजिक कार्य भएको बताए। व्यक्तिगत स्मृतिलाई समाजको हितमा उपयोग गर्ने संस्कारले समुदायमा सकारात्मक सन्देश दिने उनको भनाइ थियो।

कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई सम्मानसमेत गरिएको थियो। ज्येष्ठ नागरिकको योगदान, अनुभव र सामाजिक भूमिकाको सम्मान गर्दै गरिएको उक्त सम्मानले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, ज्येष्ठ नागरिक, पुस्तकालयका पदाधिकारी तथा सदस्य, तीनपैनी बजार व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय बासिन्दालगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण भानु साझा पुस्तकालयका सचिव विशाल गुरागाईंले गरेका थिए। उनले सार्वजनिक स्थलमा पिउने पानीको सुविधा आवश्यक रहेको उल्लेख गर्दै निरौला परिवारले सामाजिक उत्तरदायित्वका रूपमा गरेको योगदानको प्रशंसा गरे।

निरौला परिवारले दिवंगत आफन्तको सम्झनामा निर्माण गरेको उक्त धारा केवल पानीको स्रोत मात्र नभई सम्झनालाई सेवामा रूपान्तरण गर्ने उदाहरण बनेको छ। सहभागीहरूले यस्ता सामाजिक तथा मानवीय कार्यले समुदायमा आपसी सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाउने बताएका छन्।

Smart

तपाईको प्रतिक्रिया