इटहरी । इटहरी जेसीजको आयोजनामा ‘Jaycees Week–2026’ अन्तर्गत आइतबार इटहरीमा सम्पन्न ‘The Wheels of Hope – Wheelchair Run 2.0’ प्रतियोगितामा झापाका प्रज्वल योङ्गहाङ प्रथम भएका छन्।
प्रतियोगितामा मोरङका संजिव लिम्बु दोस्रो तथा संखुवासभाका सुजन थापा तृतीय भएका छन्। प्रतियोगिता इटहरीको धरान लाइनस्थित कुटी रेस्टुरेन्ट अगाडिबाट सुरु भएको थियो।
प्रथम भएका प्रज्वल योङ्गहाङलाई अल्फाबेटा इन्स्टिच्युटले नगद ८ हजार रुपैयाँ, दोस्रो भएका संजिव लिम्बुलाई सीए जेसी आशिष अग्रवालले ६ हजार रुपैयाँ तथा तृतीय भएका सुजन थापालाई जेसीजका पूर्वअध्यक्ष सोमनाथ गौतमले ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगिताका सम्पूर्ण विजेतालाई अरवानी फुड्सले आफ्ना उत्पादन शुद्ध महसमेत प्रदान गरेको आयोजकले जनाएको छ। अरवानी फुड्सका शेखर दवाडीका अनुसार सहभागी तथा विजेतालाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्ना उत्पादन उपलब्ध गराइएको हो।
इटहरी जेसीजले ‘Developing Leaders for a Changing World’ भन्ने मूल भावनासहित आयोजना गरिरहेको Jaycees Week–2026 अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। सोही क्रममा आयोजना गरिएको Wheelchair Run ले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, आत्मविश्वास र सामाजिक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
ह्विलचेयरमार्फत प्रतियोगितामा सहभागी भएका खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गरेका थिए। कार्यक्रमले अपाङ्गता भएका व्यक्तिलाई अवसर र सम्मान प्रदान गर्दै समावेशी समाज निर्माणको सन्देश दिएको आयोजकको भनाइ छ।
इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुली, प्रमुख सह–समन्वयक/EVP जेसी प्रमोद घिमिरे (भान्जा) तथा महासचिव जेसी टंकमणि न्यौपाने (रबिन) रहेका छन्।
यसैबीच Jaycees Week–2026 को अन्तिम दिन ‘Leaders for Tomorrow’ तथा समापन समारोह आयोजना हुने भएको छ। कार्यक्रम भदौ ३१ गते दिउँसो २ः३० बजे इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ। समापन समारोहमा सप्ताहअन्तर्गत सम्पन्न विभिन्न कार्यक्रमको समीक्षा तथा उपलब्धिको प्रस्तुतिसहित सप्ताहको औपचारिक समापन गरिनेछ।







