मोरङ । तीजको व्रत बसेकी श्रीमतीलाई पानी खुवाउन घरबाट निस्किएका राष्ट्रसेवक सुदीप खड्का अब कहिल्यै घर फर्किने छैनन्। सोमबार साँझ मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित नेमुवा चोकमा भएको सवारी दुर्घटनामा उनको ज्यान गएपछि एउटा परिवारको खुसी सधैँका लागि खोसिएको छ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार सुदीप खड्का गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लगिए पनि उनको ज्यान जोगिन सकेन।
तीजको व्रत बसेकी श्रीमतीलाई पानी खुवाउने सामान्य उद्देश्यले घरबाट निस्किएका सुदीपको बाटोमै भएको निधनले परिवार, आफन्त र शुभेच्छुकलाई स्तब्ध बनाएको छ। केही समयपछि घर फर्किएर श्रीमतीको व्रत खुलाउने सपना बोकेर निस्किएका उनी अब सम्झनामा मात्र रहने भएका छन्।
राष्ट्रसेवामा समर्पित सुदीपको असामयिक निधनले परिवारमा अपूरणीय क्षति पुगेको छ। उनको निधनले आफन्तजन तथा शुभेच्छुकबीच गहिरो शोक छाएको छ।







