सुनसरी | जहाँ सपना हुन्छ, त्यहाँ परिवर्तनको बाटो खुल्छ । नेतृत्वमा स्पष्ट दृष्टि, निरन्तरको प्रयास र केही नयाँ गर्ने हुटहुटी भयो भने पुराना संरचनाले पनि नयाँ पहिचान बनाउन सक्छन् । यसको उदाहरण बनेको छ, जनता बहुमुखी क्याम्पस इटहरी ।
समुदायको पहलबाट २०४५ सालमा स्थापना भएको जनता बहुमुखी क्याम्पस आज कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्येमा स्थापित छ । यही संस्थाको विकास र उन्नयनमा नयाँ सोच, योजना र सक्रिय नेतृत्वसहित पछिल्लो समय अग्रसर छन– इटहरी वडा नं. ४ निवासी विकास केसी खत्री ।
विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन् । आफैंले अध्ययन गरेको संस्थाको विकासमा योगदान गर्ने उद्देश्यसहित सञ्चालक समिति सदस्यबाट क्याम्पसमा प्रवेश गरेका केसी पदपूर्ति समिति संयोजक हुँदै अहिले सञ्चालक समितिका अध्यक्ष छन् ।
२०८० साउन २० गते भएको निर्वाचनमा उनको नेतृत्वको टोली विजयी भएपछि जनता क्याम्पसको शैक्षिक सुधारसँगै भौतिक पूर्वाधार, प्रविधि, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य र विद्यार्थीमैत्री सेवामा जोड दिएको छ । केसी नेतृत्वको महत्वपूर्ण उपलब्धिमध्ये जनता बहुमुखी क्याम्पसको इतिहासमै पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन पनि हो ।
उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्वका लागि २०८२ पुस ५ र ६ गते आयोजित सम्मेलनमा नेपाल, भारत, अमेरिका, बेलायत र थाइल्याण्डका विश्वविद्यालय तथा शैक्षिक संस्थाका विज्ञ सहभागी भए । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि कोलम्बिया विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालयलगायतका विज्ञले अनुसन्धान र उच्च शिक्षाको भविष्यबारे विचार प्रस्तुत गरे ।
एक सयभन्दा बढी अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत भएको उक्त सम्मेलनले जनता क्याम्पसलाई पठनपाठनमा मात्र सीमित नभई अनुसन्धान र नवीनताको केन्द्र बनाउने अभियानलाई बलियो आधार दियो । ‘सम्मेलन गर्न जटिल रहेको थियो । सम्मेलन सफल बनाउन क्याम्पस सञ्चालक समितिको उल्लेखनीय भूमिका रह्यो । त्यसमा पनि अध्यक्षको भूमिका महत्वपूर्ण थियो,’ सहायक क्याम्पस प्रमुख एवम् सम्मेलनका संयोजक इन्द्र प्याकुरेलले भने ।
अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमार्फत जनता क्याम्पसले इटहरीको शैक्षिक विकासमा पुर्याएको योगदानको मूल्यांकन गर्दै प्रदेश खबर अनलाइनले समेत शैक्षिक सम्मान २०८२ प्रदान गरेको थियो । उक्त सम्मान जनता बहुमुखी क्याम्पसका अध्यक्ष विकास केसी खत्री र तत्कालिन क्याम्पस प्रमुख गीता अधिकारीले संयुक्त रूपमा ग्रहण गरेका थिए ।
क्याम्पसलाई अन्तर्राष्ट्रिय शैक्षिक जगत्सँग जोड्ने अर्को महत्वपूर्ण काम हो– भारतका बाबा मस्तनाथ विश्वविद्यालय र श्री जे जे टी विश्वविद्यालयसँग गरिएको पाँच वर्षे शैक्षिक सम्झौता । विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, अनुसन्धान सहकार्य, संयुक्त प्रकाशन, डिजिटल शिक्षा र सांस्कृतिक सहकार्यका लागि यी सम्झौताले नयाँ सम्भावनाको ढोका खोलेका छन् । ‘अहिलेको सञ्चालक समितिले हरेक कुरामा सिरियस ढंगले अघि बढेको हुनाले नेपालमा त्यसमा पनि कोशी प्रदेशमा मात्र नभएर अन्तर्राष्ट्यि स्तरमा नाम पुर्याउन सफल भएका छौं,’ अर्का सहायक क्याम्पस प्रमुख राजन भट्राईले भने ।
पूर्वी नेपालको शैक्षिक हब बनाउने लक्ष्यसँगै भौतिक पूर्वाधार विस्तारमा पनि अध्यक्ष केसी नेतृत्व टोलीले उल्लेखनीय काम गरेको छ । झण्डै पाँच करोड रुपैयाँ लागतमा अत्याधुनिक छात्रावास निर्माण भइरहेको छ । छात्रावासको पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र पूरा गर्ने सहमति छ । तीन तल्ले छात्रावासमा छात्र र छात्राका लागि छुट्टाछुट्टै भवन निर्माण हुँदैछन् । यसले कोसी प्रदेशका पहाडी जिल्ला, तराईका ग्रामीण क्षेत्र र मधेश प्रदेशका विभिन्न स्थानबाट अध्ययन गर्न आउने विद्यार्थीलाई डेरा खोज्नुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ ।
यो संरचना केवल भवन होइन, विद्यार्थीका सपना पूरा गर्ने नयाँ आधार बन्ने अपेक्षा गरिएको छ। ‘विद्यार्थीलाई के कुरामा सुविधा दिलाउन सकिन्छ ? भनेर सोच्दा विभिन्न दुर्गम जिल्ला र शहरका पनि ग्रामीण क्षेत्रबाट आउने विद्यार्थीका लागि छात्राबास उपयुक्त ठानेर निर्माण गरेका हांै, यसले विद्यार्थीलाई वस्न सुविधा त हुने नै छ, अर्कातिर पढ्ने वातावरण पनि हुनेछ,’ सञ्चालक समिति सदस्य एव्म कक्षा र १२ का संयोजक शेखर लुईटेलले भने ।
केसी नेतृत्व टीम आएपछि नै यूजीसीको सहयोगमा एक करोड पैयाँ लागतको नयाँ भवन निर्माण भएको छ । त्यस्तै यूजीसीकै २२ लाख रुपैयाँ अनुदानमा पाँच कोठाको अर्को भवन निर्माण गरिएको छ । विद्यार्थीको नेतृत्व विकास र रचनात्मक गतिविधिका लागि स्ववियू भवन निर्माण भएको छ भने कोशी प्रदेश सरकारको सहयोगमा २५ लाख रुपैयाँको लागतमा कम्पाउन्ड वाल निर्माण गरिएको छ ।
केसी नेतृत्वको टोलीले विद्यार्थीका आवाज, गतिविधि र संगठनात्मक अभ्यासका लागि छुट्टै संरचनाको आवश्यकता महसुस गर्दै स्ववियू भवन पनि निर्माण गरेको छ । ‘स्वतन्त्र विद्यार्थी यूनियनको छुट्टै भवन हुनुपर्छ भन्ने सपनालाई अहिलेको सञ्चालक समितिले पुरा गरि दिएको छ,’ स्ववियु सभापति सहदेव काफलेले भने ।
केसी नेतृत्वको टोलीले क्याम्पसलाई प्रविधिमैत्री बनाउने कामलाई पनि प्राथमिकता दिएको छ । स्मार्ट बोर्ड जडान, सीसी क्यामेरा विस्तार, कम्प्युटर तथा इन्टरनेट सुविधा विस्तारले शिक्षण सिकाइ र क्याम्पसको सुरक्षा व्यवस्थालाई थप आधुनिक बनाएको छ । विद्यार्थीलाई सहज यातायात सुविधा दिन नयाँ सातवटा बस थपिएपछि बराहक्षेत्र, दुहबी, इनरुवा तथा उत्तरी मोरङबाट आउने विद्यार्थीलाई समेत राहत पुगेको छ ।
‘अहिलेको हाम्रो सञ्चालक समितिले गाउँ गाउँसम्म वस सेवा सञ्चालन गरेको छ । यसले गर्दा विद्यार्थीको आकर्षण बढेको छ,’ सञ्चालक समिति सदस्य कविन्द्रबहादुर केसीले भने ।
केसी नेतृत्व टीमले विद्यार्थीलाई आधुनिक ज्ञान, सूचना र प्रविधिसँग सहज पहुँच पु¥याउने उद्देश्यले प्रविधिमैत्री अध्ययन वातावरण निर्माण भएपछि विद्यार्थीले अनुसन्धान, डिजिटल सिकाइ र व्यावहारिक ज्ञान हासिल गर्ने अवसर पाएका छन्।
यस पहलले जनता क्याम्पसलाई समयसापेक्ष र आधुनिक शिक्षाको केन्द्र बनाउन थप सहयोग पु¥याएको छ । प्रशासनिक कामलाई प्रभावकारी बनाउन सफ्टवेयर सञ्चालन भएको छ ।
‘अहिलेको सञ्चालक समिलिते गर्दा शैक्षिक र प्रशासनिक दुवैमा पुरै परिवर्तन आएको छ । क्याम्पसमा नयाँ सफ्टवेयर जडान गरिएको छ, विद्यार्थीको शुल्कदेखि लिएर क्याम्पसको सम्पूर्ण खर्च सफ्टवेयरमार्फत हुने गरेको छ,’ कामयमुकायम क्याम्पस प्रमुख सञ्जिवकुमार यादवले भने, ‘शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन ई ब्लकमा इन्ट्यारेक्टिभ बोर्ड राखिएको छ । त्यहाँ आइसिटी ल्याब समेत बनेको छ ।’ उनले अध्यक्ष केसी नेतृत्व टीमले विद्यार्थीको पठनपाठनका निम्ति हरेक हिसावले सक्रिय रुपमा जुट्न प्रशासनलाई निर्देशन पनि दिने गरेको बताए ।
शिक्षामा आर्थिक अवस्था बाधक नबनोस् भन्ने उद्देश्यले छात्रवृत्तिको क्षेत्रमा पनि महत्वपूर्ण पहल भएको छ । केसीकै पहल र समन्वयमा इटहरीका उद्योगी व्यवसायी भीमबहादुर पौडेलले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
त्यस्तै उच्च शिक्षालाई अनुसन्धानसँग जोड्न आरएमआरसी रुम स्थापना गरिएको छ । आरएमआरसी रुमले प्राध्यापक तथा विद्यार्थीलाई अनुसन्धान, तथ्य संकलन, शैक्षिक लेखन र ज्ञान आदानप्रदानका लागि आवश्यक वातावरण प्रदान गर्नेछ । ‘अनुसन्धान व्यवस्थापन एकाई सक्रिय भएर काम गर्न थालेको छ । त्यही सक्रियता स्वरुव चारवटा जर्नल प्रकाशन गर्न सफल भएको छ । ती जर्नल नेपजोलमा सूचीकृत भएका छन् । यहाँ अध्ययन अनुसन्धानसँग सम्बन्धित थुप्र्रैपटक कार्यक्रमहरु भएका छन,’ जनता बहुमुखी क्याम्पस नेपाली भाषा विभाग प्रमुख तथा अनुसन्धाता, मदनराज बरालले भने ।
तीन वर्षको अवधिमा पोखरी सुधार, ड्रेनेज निर्माण, विद्यार्थी स्वास्थ्य सुरक्षाका लागि नर्सको व्यवस्था, व्यवस्थित पुस्ताकालय, शैक्षिक जर्नल प्रकाशन जस्ता काम पनि भएका छन् । नयाँ शैक्षिक कार्यक्रम विस्तार गर्ने क्रममा बिबिए सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्रक्रिया अघि बढाइएको छ । विद्यार्थीको खेलकुद गतिविधिका लागि ज्योति माध्यमिक विद्यालयको जग्गा लिजमा लिएर खेल मैदान व्यवस्थापनको पहल गरिएको छ । क्याम्पस अगाडिको कल्भर्ट निर्माणका लागि बजेट ल्याउनसमेत पहल भएको छ ।
जनता क्याम्पसले अहिले नयाँ पुस्ताको सपना बोकेको छ । र, सपनालाई योजनाको आकार दिने, योजनालाई कर्ममा उतार्ने र कर्मलाई नतिजामा बदल्ने यात्राको नेतृत्व गरिरहेका छन, विकास केसी खत्री । उनको नेतृत्वमा रहेको टिममा तीर्थ पराजुली, ईश्वर भट्टराई, चन्द्र भट्टराई, शिवराज दाहाल, शेखर लुईटेल, रेवती घिमिरे, दिनेश भट्टराई, राजकुमार कार्की, गंगा भट्टराई, उर्मिला कट्वाल, शेखर चौधरी, मन्दिरा भट्टराई, कविन्द्र केसी, युगप्रिय निरौला, विकल रेग्मी र अम्बिका श्रेष्ठ छन् । सामूहिक प्रयासमा विश्वास गर्दै कामको अन्तिम नतिजा देखाउने लक्ष्यसहित विकास केसी खत्री नेतृत्वको यो टिम अघि बढिरहेको छ ।







