इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाको आसन्न १५औँ नगर अधिवेशनलाई लक्षित गर्दै रतन कार्की ‘कैलाश’ले नगर उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
पार्टी संगठन तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय कार्कीले नेपाली कांग्रेसलाई इटहरीमा थप सुदृढ, व्यवस्थित, एकताबद्ध र कार्यकर्तामैत्री संगठनका रूपमा अघि बढाउने उद्देश्यसहित उपसभापति पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।
राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएका कार्कीले लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले विगतमा नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका–१ को पार्टी सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। त्यसैगरी नेपाल तरुण दल इटहरी–१ को अध्यक्षको जिम्मेवारीमा रहेर पनि उनले संगठन तथा युवा परिचालनका क्षेत्रमा काम गरेका थिए।
हाल उनी नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका–१ का उपसभापतिको जिम्मेवारीमा छन्। स्थानीय तहको निर्वाचनमा इटहरी–१ बाट वडा सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका कार्की स्थानीयस्तरमा सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्।
कार्की सामाजिक क्षेत्रमा समेत लामो समयदेखि क्रियाशील छन्। राष्ट्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा दुई पटक जिम्मेवारी सम्हालिसकेका उनले शिक्षा क्षेत्रको व्यवस्थापन तथा सामाजिक गतिविधिमा योगदान पुर्याउँदै आएका छन्। यस्तै, आपगाछी युथ क्लबको उपसभापतिको जिम्मेवारीसमेत उनले वि.सं. २०४५ सालदेखि सम्हाल्दै आएको बताइएको छ।
पार्टी संगठनसँगै समाजमा पनि निरन्तर सक्रिय रहेका कार्कीले कार्यकर्तासँगको सहज सम्बन्ध, संगठन निर्माणको अनुभव र सामाजिक क्षेत्रमा गरेको योगदानलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै कार्कीले कांग्रेस इटहरीको संगठनलाई थप बलियो बनाउँदै कार्यकर्ताको सम्मान, संगठन विस्तार, आपसी एकता र जिम्मेवारीअनुसार नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीलाई जनतासँग अझ नजिक जोड्दै कार्यकर्ताको भावना र आवश्यकतालाई संगठनको केन्द्रमा राखेर अघि बढ्ने बताए।







