चतरा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वराहक्षेत्रलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिने बताएका छन्।
बिहीबार बृहत्तर वराहक्षेत्र विकास समिति, चतरा कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षमा सञ्चालन गरिने विकास योजनाका विषयमा सुझावसमेत दिएका हुन्।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले वराहक्षेत्र परिसरलाई धार्मिक तथा पर्यटन सर्किटका रूपमा विकास गर्ने योजना अघि बढाएको बताए। वराहक्षेत्रमा आवश्यक पूर्वाधार विकास गरी यहाँ आयोजना हुने कुम्भमेलालाई राष्ट्रिय गौरवको धार्मिक पर्यटन उत्सवका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो।
उनले वराहक्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वलाई पर्यटनसँग जोड्दै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउने गरी योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिए। यसका लागि आवश्यक पूर्वाधार, प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिने उनले बताए।
निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीलाई बृहत्तर वराहक्षेत्र विकास समितिका पदाधिकारी तथा कर्मचारीले स्वागत तथा सम्मान गरेका थिए। सो अवसरमा कार्यालयका गतिविधि तथा आगामी योजनाबारे समेत छलफल भएको थियो।
यसअघि बुधबार कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिना र मन्त्रालयका सचिव विष्णुप्रसाद कोइरालाले पनि बृहत्तर वराहक्षेत्र विकास समिति, चतरा कार्यालयको अवलोकन तथा निरीक्षण गरेका थिए।
मन्त्री तिम्सिनाले वराहक्षेत्र परिसरलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्ने काम प्रदेश सरकारले अघि बढाएको जानकारी दिइन्। उनले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिइने बताइन्।
निरीक्षणका क्रममा पर्यटन तथा धार्मिक सङ्ग्रहालय निर्माणलगायत आगामी वर्ष सञ्चालन गरिने विभिन्न योजनाका विषयमा छलफल भएको थियो। सचिव कोइरालाले कार्यालयका गतिविधि तथा आगामी योजनाबारे जानकारी लिँदै आवश्यक सुझाव दिएका थिए।
सो अवसरमा संस्कृति तथा पुरातात्त्विक महाशाखाका प्रमुख गोपाल दाहालसहित मन्त्रालयको सचिवालय टोलीको समेत सहभागिता थियो। बृहत्तर वराहक्षेत्र विकास समिति, चतरा कार्यालयले मन्त्री तिम्सिना, सचिव कोइराला, महाशाखा प्रमुख दाहाल तथा सचिवालय टोलीलाई स्वागत तथा सम्मान गरेको थियो।







