काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘झिंगे दाउ २’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। रिलिजको पूर्वसन्ध्यामा फिल्मले मल्टिप्लेक्सहरूमा उच्च शो पाउँदै सुखद ओपनिङको संकेत दिएको निर्माण पक्षले जनाएको छ। यसैबीच, फिल्मको जापान प्रदर्शन अधिकारसमेत बिक्री भएको जनाइएको छ।

ललितपुरको लाबिम मलस्थित क्यूएफएक्स सिनेमाजमा बुधबार आयोजित ग्रान्ड प्रिमियरमा फिल्मकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। प्रिमियरमा फिल्मको कथावस्तु, पिरियड सेटिङ, कलाकारको अभिनय तथा गीत–संगीतको प्रशंसा भएको निर्माण पक्षले जनाएको छ।

प्रिमियरमा सहभागी फिल्मकर्मीहरूले ‘झिंगे दाउ २’ ले पूर्ण पारिवारिक मनोरञ्जन प्रदान गर्ने प्रतिक्रिया दिएका छन्। निर्माता सरोज न्यौपानेले निर्देशकको प्रयासको प्रशंसा गर्दै फिल्म तिहारसम्मै दर्शकको रोजाइमा रहने दाबी गरे।

अभिनेता जयकिशन बस्नेतले फिल्मको पहिलो हाफले दर्शकलाई हँसाउने र दोस्रो हाफले भावुक बनाउने प्रतिक्रिया दिँदै परिवारसहित हलमा पुगेर फिल्म हेर्न आग्रह गरे।

समीक्षक तथा लेखक सामिप्यराज तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत फिल्मको प्रशंसा गर्दै पिरियड सेटिङमा विश्वसनीय र मौलिक पारिवारिक चलचित्र निर्माण भएको प्रतिक्रिया दिएका छन्।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल बिष्टको मुख्य भूमिका रहेको छ। फिल्ममा सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मको कथा गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन्। पटकथा तथा संवाद परिच्छेद सेनको रहेको छ।

सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा रहेका छन्। विष्णु घिमिरे ‘कल्पित’ को छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व र मित्र डी गुरुङको सम्पादन रहेको छ। प्रोडक्सन हेडको जिम्मेवारी ईश्वर घिमिरेले सम्हालेका छन्।

देशभरका हल सञ्चालकहरूले फिल्मप्रति उत्साह देखाउँदै अग्रिम बुकिङ खुला गरेका छन्। प्रिमियरबाट आएको सकारात्मक प्रतिक्रियासँगै उच्च शो र अग्रिम बुकिङले ‘झिंगे दाउ २’ को प्रदर्शनलाई लिएर निर्माण पक्ष उत्साहित बनेको छ।

भिडियो : https://youtu.be/X_uzq1-I6Gc?si=WSxceK4RvfbUdLgL

Smart

तपाईको प्रतिक्रिया