१५औँ महाधिवेशनमा युवाको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल तरुण दलको माग
इटहरी । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा पार्टीभित्र लामो समयदेखि क्रियाशील युवाहरूको सम्मानजनक तथा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल तरुण दल नगर कार्यसमिति सुनसरीले माग गरेको छ।
नेपाल तरुण दल नगर कार्यसमिति सुनसरीले नेपाली कांग्रेस इटहरी उपमहानगर कार्यसमितिका सभापति हेमकर्ण पौडेललाई ज्ञापनपत्र ध्यानाकर्षण गराउदै युवाको प्रतिनिधित्वलाई औपचारिक संख्या पूरा गर्ने माध्यमका रूपमा मात्र नलिई पार्टीको नयाँ नेतृत्व विकास र युवाको योगदानको सम्मान गर्ने अवसरका रूपमा लिन आग्रह गरेको हो।
ज्ञापनपत्रमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको प्रक्रियामात्र नभई पार्टीभित्र नयाँ पुस्ताको सहभागिता, पुस्तान्तरण र नेतृत्व विकासलाई व्यवहारमा स्थापित गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गरिएको छ। तरुण दलले निर्वाचन, आन्दोलन, संगठन विस्तार तथा सामाजिक अभियानलगायतका गतिविधिमा इटहरीका विभिन्न वडा र टोलमा युवाहरूले पार्टीको झण्डामुनि निरन्तर समय, श्रम, क्षमता र ऊर्जा समर्पण गर्दै आएको नेपाल तरुण दल नगर कार्यसमिति इटहरीका अध्यक्ष अनिश सुवेदीले जानकारि दिए ।
तरुण दलका अनुसार युवाका लागि छुट्याइएको प्रतिनिधित्व केवल उमेरको मापदण्ड पूरा गर्ने वा औपचारिक संख्या पुर्याउने प्रक्रियामा सीमित हुनुहुँदैन। पार्टीमा निरन्तर खटिएका युवाको योगदानको सम्मान गर्दै जिम्मेवारीसहित नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने वातावरण निर्माण गर्नुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमार्फत १५ औँ महाधिवेशनअन्तर्गत इटहरी उपमहानगरपालिकाका वडा अधिवेशनदेखि विभिन्न तहमा हुने प्रतिनिधि तथा नेतृत्व चयन प्रक्रियामा नेपाल तरुण दलमा आबद्ध भई नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा पार्टी र संगठनका गतिविधिमा निरन्तर सक्रिय, प्रतिबद्ध र योगदानशील योग्य युवालाई उचित प्राथमिकता दिई सम्मानजनक तथा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ।
तरुण दलले पार्टीका लागि मैदानमा खटिएका युवालाई अवसरबाट वञ्चित नगर्न आग्रह गर्दै महाधिवेशनको प्रक्रियामा सक्रिय, प्रतिबद्ध र योगदानशील युवालाई उचित अवसर प्रदान गर्ने वातावरण बनाउन जोडदार माग गरेको छ।
ज्ञापनपत्रमा भनिएको छ, “योगदानको कदर गरौँ—युवालाई अवसर दिऔँ—नेतृत्वमा स्थापित गरौँ।”
ज्ञापनपत्र नेपाल तरुण दल नगर कार्यसमिति इटहरीका अध्यक्ष अनिश सुवेदी र सचिव एविन निरौलाले नेपाली कांग्रेस इटहरी उपमहानगर कार्यसमितिका सभापति हेमकर्ण पौडेललाई ध्यानाकर्षण गराएका हुन् ।







