इटहरी । नेपाली फिल्म इतिहासमै दर्शकको सर्वाधिक रोजाइमा परेको ‘कबड्डी’ शृंखलाको नयाँ संस्करण ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’ प्रदर्शनका लागि तयार भएको छ। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म आगामी कार्तिक ६ गतेदेखि देशभरका फिल्म हलमा प्रदर्शन हुँदैछ।
रामबाबु गुरुङको निर्देशन रहेको फिल्मलाई यसअघि दशैंको मुख्य समयमा रिलिज गर्ने तयारी गरिएको थियो। तर, दशैंको समयमा अन्य नेपाली फिल्मलाई पनि प्रदर्शनको पर्याप्त अवसर मिलोस् भन्ने उद्देश्यले रिलिज मिति सारिएको निर्देशक गुरुङले बताएका छन्। नयाँ तालिकाअनुसार फिल्म दशैं सकिएको करिब एक सातापछि र तिहार सुरु हुनुभन्दा करिब दुई साताअघि प्रदर्शनमा आउनेछ।
प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले प्रचारप्रसारलाई तीव्रता दिएको छ। यही क्रममा शुक्रबार फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा शृंखलाका चर्चित कलाकारहरू दयाहाङ राई, विजय बराल र बुद्धि तामाङलाई प्रस्तुत गरिएको छ।
‘कबड्डी ५’ को अर्को आकर्षण यसपटक जोडिएका नयाँ कलाकार हुन्। बहुप्रतिभाशाली अभिनेता विपिन कार्की र ‘मिस युके नेपाल–२०१७’ सिर्जना गुरुङ पहिलोपटक ‘कबड्डी’ टिममा आबद्ध भएका छन्। नयाँ कलाकारको प्रवेशसँगै फिल्मको कथा र प्रस्तुतिमा नयाँपन थपिने अपेक्षा गरिएको छ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल र अरुणा कार्कीले यसअघिकै भूमिकालाई निरन्तरता दिएका छन्। नयाँ तथा पुराना कलाकारको संयोजनसँगै निर्देशक रामबाबु गुरुङको कथावाचनले फिल्मलाई थप रोचक बनाउने निर्माण पक्षको दाबी छ।
बाह्र वर्षदेखि निरन्तर दर्शकको साथ पाउँदै आएको ‘कबड्डी’ शृंखलाको नयाँ संस्करणलाई लिएर प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकको चासोसमेत बढ्दो छ। तिहारको छेकोमा प्रदर्शन हुने ‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’ ले यसपटक पनि नेपाली फिल्मका दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने चासोको विषय बनेको छ।







