सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१० स्थित सिटी सफारी चालक परिवार, सुन्दरहरैँचाको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले लीलामणि बार्हकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
मोरङ सुन्दरहरैँचा–१० त्रिवेणी चोकस्थित साकेला थानको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष लीलामणि बार्हकोटीको अध्यक्षता तथा इलाका प्रहरी पोस्ट विराटचोकका प्रहरी सहायक निरीक्षक गंगाबहादुर मगरको प्रमुख आतिथ्य रहेको थियो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा शर्मिला घिमिरे, सचिवमा भीमबहादुर बोगटी, कोषाध्यक्षमा सुदीप श्रेष्ठ तथा सदस्यहरूमा राजेन्द्र भण्डारी, राजकुमार काफ्ले, प्रेम कार्की, तुलाराम माझी र यज्ञ बहादुर थापा चयन भएका छन्।
साधारण सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, चालकहरूको पेशागत हित तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सिटी सफारी चालकहरूलाई ज्याकेट वितरण गरिएको थियो।
साधारण सभाका अवसरमा सुन्दरहरैँचा–१० निवासी सलबहादुर भुजेललाई ‘इमानदारी तथा सामाजिक उत्तरदायित्व सम्मान’ प्रदान गरिएको थियो। भुजेलले बाटोमा फेला पारेको तीन लाख रुपैयाँ सम्बन्धित धनीको पहिचान गरी फिर्ता गरेका थिए।
त्यस्तै, संस्थाका कोषाध्यक्ष मदन चौलागाईंलाई पनि सम्मान गरिएको थियो। व्यक्तिगत तथा बसाइँसराइका कारण पदबाट राजीनामा दिएका चौलागाईंले चालकहरूको हकहित तथा संस्थाको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको हो।
कार्यक्रममा संस्थाले बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ राहत कोषमा सहयोग गर्ने घोषणा गरेको छ।
प्रमुख अतिथि प्रहरी सहायक निरीक्षक गंगाबहादुर मगरले सिटी सफारी चालकहरूले यात्रुको सुरक्षा, ट्राफिक नियमको पालना र जिम्मेवार व्यवहारलाई प्राथमिकता दिनुपर्ने बताए। संस्थाका अध्यक्ष बार्हकोटीले चालकहरूको हकहितसँगै सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने बताए।
कार्यक्रममा संस्थाका पदाधिकारी, सिटी सफारी चालक, सदस्य तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो। तुलसी जङ कार्कीले स्वागत मन्तव्य राखेका थिए भने मदन चौलागाईंले आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए।







