इटहरी । नेपालका विभिन्न क्षेत्रमा हालै आएको बाढीका कारण घाइते तथा बिरामीको उपचारमा रगतको आवश्यकता बढ्न सक्ने भन्दै लायन्स/लियो क्लब अफ बाँसबारीले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको रसुवा जिल्लास्थित भोटेकोशी नदीमा चीनको तिब्बततर्फबाट आएको लेदोसहितको भीषण बाढीले त्रिशूली तथा नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । २०८३ भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीका कारण भौतिक संरचनामा क्षति पुग्नुका साथै मानवीय क्षतिसमेत भएको छ । बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारका लागि रगतको आवश्यकता पर्न सक्ने भएकाले रक्त अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी धरान, सुनसरीको प्राविधिक सहयोगमा २०८३ साल भदौ १४ गते आइतबार बिहान ७ बजेदेखि सुन्दरहरैंचा-५ बाँसबारी चोकमा रक्तदान कार्यक्रम सञ्चालन हुने क्लबकी अध्यक्ष पवित्रा गौतम भण्डारीले जानकारी दिइन् । विपद्का बेला आवश्यक पर्ने रगतको अभाव हुन नदिन तथा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष भण्डारीले बताइन् । रक्तदान कार्यक्रममा विभिन्न संघ–संस्था, क्लबका प्रतिनिधि, सामाजिक अभियन्ता, स्थानीयवासी तथा छरछिमेकलाई सहभागी भई रक्तदान गर्न क्लबले आग्रह गरेको छ ।

एक पटकको रक्तदानले आवश्यक परेका बिरामी तथा घाइतेको उपचारमा सहयोग पुग्ने भन्दै अध्यक्ष भण्डारीले सबैलाई यस मानवीय अभियानमा सहभागी हुन अनुरोध गरिन् । “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो ।

Smart

तपाईको प्रतिक्रिया