सुन्दरहरैंचा (मोरङ) : जीवनको कठिन मोडमा पुगेका मोरङको सुन्दरहरैंचा–१० का फत्तबहादुर भुजेल अहिले उपचार, सुरक्षित बास र सहाराको खोजीमा छन्। जन्डिस र प्रेसरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण हातखुट्टासमेत चलाउन कठिन भएपछि उनको दैनिक जीवन झन् कष्टकर बन्दै गएको थियो।
अलपत्र अवस्थामा रहेका भुजेलको अवस्थाबारे जानकारी पाएपछि सुन्दरहरैंचामा क्रियाशील सामाजिक संस्था ‘सहयोगी मनहरू’का अध्यक्ष भीम अधिकारी उनको सहारा बनेका छन्। अधिकारीको पहलमा भुजेललाई आवश्यक कागजी प्रक्रिया पूरा गरी सुन्दरहरैंचा–५ स्थित नयाँ वृन्दावन गौशाला आश्रममा सुरक्षित रूपमा लगिएको हो।
आफन्त तथा सहाराको अभावमा कठिन अवस्थामा रहेका भुजेललाई आश्रमसम्म पुर्याउनु केवल स्थानान्तरणको काम नभई मानवीय जिम्मेवारी पूरा गर्ने प्रयास भएको अधिकारीले बताए।
अधिकारीका अनुसार भुजेलको स्वास्थ्य अवस्था कमजोर रहेकाले तत्काल सुरक्षित बाससँगै आवश्यक स्वास्थ्य उपचार र हेरचाहको आवश्यकता छ। “उहाँलाई अलपत्र अवस्थामा छोडेर हेर्न सकिँदैन। मानवीय हिसाबले सक्ने सहयोग गर्नुपर्छ भन्ने लागेर आवश्यक प्रक्रिया पूरा गरेर आश्रमसम्म पुर्याएका हौँ,” अधिकारीले भने।
सामाजिक सेवामा सक्रिय भीम अधिकारीको पहलमा ‘सहयोगी मनहरू’ले यसअघि पनि समस्यामा परेका तथा सहाराविहीन व्यक्तिहरूलाई सहयोग गर्दै आएको बताइएको छ। भुजेलको अवस्थाले समाजमा रहेका असहाय र सहाराविहीन नागरिकप्रति सामूहिक जिम्मेवारी अझै आवश्यक रहेको देखाएको छ।
अहिले भुजेल नयाँ वृन्दावन गौशाला आश्रममा पुगेका छन्। तर उनको स्वास्थ्य उपचार, औषधि तथा दीर्घकालीन हेरचाहका लागि थप सहयोग आवश्यक देखिएको छ। यस्तो अवस्थामा भीम अधिकारीजस्ता सामाजिक अभियन्ताको पहलले एउटा असहाय जीवनलाई कम्तीमा सुरक्षित छानो र मानवीय साथ दिएको छ। अलपत्र जीवनलाई आश्रय दिने यो पहलले ‘सहयोगी मन’ नामलाई व्यवहारमै सार्थक बनाएको छ।







