सुन्दरहरैंचा(मोरङ) : काठमाडौँको भृकुटीमण्डपमा आयोजित नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३ (एक्स्पो २०२६) आइतबार सम्पन्न भएको छ। चार दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा विभिन्न घरजग्गा, आवास तथा निर्माण व्यवसायसँग सम्बन्धित कम्पनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
एक्स्पोमा डिएन ग्रुप अफ कम्पनीजले समेत आकर्षक स्टलसहित सहभागिता जनाएको थियो। प्रदर्शनीमार्फत डिएन ग्रुपले आफ्ना विभिन्न आवास तथा जग्गा परियोजनाबारे जानकारी दिनुका साथै ग्राहकलाई लक्षित गर्दै विशेष अफर तथा योजनासमेत सार्वजनिक गरेको थियो।
ग्रुपले प्रति आना २५ लाख रुपैयाँसम्मका प्लटिङ जग्गा उपलब्ध गराउने योजनासहित ग्राहकलाई आकर्षित गरेको थियो। त्यसैगरी, जग्गा खरिद गर्ने प्रत्येक ग्राहकलाई इलेक्ट्रिक स्कुटर उपहार दिने विशेष योजनासमेत सार्वजनिक गरिएको थियो। यस्ता आकर्षक योजना र ग्राहककेन्द्रित सेवाका कारण एक्स्पोमा डिएन ग्रुपको स्टलमा आगन्तुक तथा सम्भावित ग्राहकको चासो देखिएको थियो।
एक्स्पो अवधिभर स्टल व्यवस्थापन, ग्राहकसँगको समन्वय, परियोजनाबारे जानकारी तथा प्रचार–प्रसारमा सक्रिय रूपमा खटिएका डिएन ग्रुपका कर्मचारीलाई कम्पनीले विशेष सम्मानसमेत गरेको छ।
कर्मचारी सम्मान कार्यक्रममा बोल्दै डिएन ग्रुपका चेयरमेन दीपक काफ्लेले कुनै पनि संस्थाको सफलता सामूहिक प्रयास, मेहनत र जिम्मेवारीबोधमा निर्भर रहने बताए। उनले एक्स्पोमा कर्मचारीहरूले देखाएको सक्रियता, अनुशासन र समर्पणले संस्थाको पहिचानलाई थप मजबुत बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि यही ऊर्जा र प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरे।
त्यस्तै, डिएन ग्रुपका सञ्चालक नेत्रप्रसाद चम्लागाईंले कर्मचारीहरूलाई संस्थाको महत्वपूर्ण शक्ति भएको बताए। उनले एक्स्पोमा खटिएर जिम्मेवारी पूरा गर्ने सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दै मेहनत र योगदानको कदर गर्नु संस्थाको संस्कार भएको बताए।
चम्लागाईंले ग्राहकको विश्वासलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा, पारदर्शिता र आकर्षक योजनामार्फत डिएन ग्रुपलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
सम्मान कार्यक्रममा एक्स्पो अवधिभर उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान तथा प्रोत्साहन गरिएको थियो। कम्पनी नेतृत्वले कर्मचारीको मेहनतलाई सम्मान गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न प्रेरित गरेको जनाएको छ।
डिएन ग्रुपले पछिल्लो समय जग्गा तथा आवास क्षेत्रमा ग्राहकको आवश्यकता र पहुँचलाई ध्यानमा राख्दै विभिन्न आकर्षक योजना तथा परियोजनामार्फत आफ्नो उपस्थिति विस्तार गर्दै आएको जनाएको छ। एक्स्पोमा गरिएको सहभागितालाई पनि कम्पनीले आफ्ना सेवा, परियोजना र आगामी योजनालाई प्रत्यक्ष रूपमा ग्राहकसमक्ष पुर्याउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।







