इटहरी । नेपाल तरुण दल सुनसरी जिल्ला कार्यसमितिले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधन र भौतिक संरचनाको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा प्राकृतिक प्रकोपमा ज्यान गुमाउने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै बाढी तथा पहिरोबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विज्ञप्तिमा विपद्का कारण बेपत्ता भएका नागरिकहरूको तत्काल खोजी, उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ। बाढी तथा पहिरोको जोखिममा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्नसमेत तरुण दल सुनसरीले आग्रह गरेको छ।

विपद्को यस कठिन घडीमा पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, गैरसरकारी संस्था, स्वयंसेवक तथा आम नागरिक एकताबद्ध भएर सहयोग गर्नुपर्नेमा तरुण दलले जोड दिएको छ।

तरुण दल सुनसरीले विपद्बाट प्रभावित नागरिकको जीवनरक्षा र मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै सबै पक्षलाई आवश्यक सहयोग र सहकार्यका लागि आह्वान गरेको हो।

यसैबीच, बाढीका कारण रसुवा, नुवाकोट र धादिङसहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ भने सुरक्षा निकायले खोज तथा उद्धारका लागि जनशक्ति परिचालन गरिरहेको जनाएको छ। 

Smart

तपाईको प्रतिक्रिया