इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनसरी क्षेत्र नम्बर ३ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि समाजसेवी तथा शिक्षाविद् केशव खड्काले उम्मेदवारी घोषणा गरेका छन्।

‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल नेपालीको एकता’ भन्ने मूल नारासहित खड्काले पार्टीको संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने उद्देश्यका साथ उम्मेदवारी अघि सारेका हुन्।

शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका खड्का सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका छन्। शिक्षा र समाजसेवाका माध्यमबाट समुदायसँग नजिक रहेर काम गर्दै आएका उनी अब पार्टी संगठनमार्फत पनि आफ्नो अनुभव र क्षमता उपयोग गर्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका हुन्।

खड्काले नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, मान्यता र गौरवशाली परम्पराको सम्मान गर्दै बदलिँदो समयअनुसार पार्टीलाई थप प्रभावकारी र जनमुखी बनाउन आवश्यक रहेको बताएका छन्।

उनको उम्मेदवारीले संगठन सुदृढीकरण, पुस्ताबीचको समन्वय, शिक्षा तथा सामाजिक क्षेत्रका मुद्दालाई प्राथमिकता र कार्यकर्ताको भावनालाई सम्बोधन गर्ने विषयलाई जोड दिएको छ।

‘गौरव, गति, अन्त्य’ भन्ने अवधारणासहित अघि बढेका खड्काले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टी संगठन र समाजका लागि आफूले हासिल गरेको अनुभवलाई प्रभावकारी रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Smart

तपाईको प्रतिक्रिया