
तेह्रथुम । आठराई गाउँपालिकाले सञ्चालन गरेको नगर बस सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिकाले सर्वसाधारणलाई सहज, सुरक्षित र सर्वसुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले संक्रान्तिबजारदेखि पाँचथरको फिदिमसम्म बस सेवा सुरु गरेको हो।
गाउँपालिकाका अनुसार बस सेवामार्फत स्थानीय नागरिकलाई दैनिक आवतजावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ। सेवा सञ्चालनसँगै विभिन्न वर्गका नागरिकलाई छुट तथा निःशुल्क यात्राको व्यवस्था समेत गरिएको छ।
व्यवस्थाअनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा ५ वर्षमुनिका बालबालिकाले पूर्ण रूपमा निःशुल्क यात्रा गर्न पाउनेछन्। त्यस्तै, विद्यालय पोशाकमा तथा परिचयपत्रसहित विद्यालय समयमा यात्रा गर्ने विद्यार्थीलाई पनि निःशुल्क सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
विद्यालय पोशाकमा नभएका तर विद्यार्थी परिचयपत्र भएका विद्यार्थीलाई भने ३३ प्रतिशत छुट प्रदान गरिनेछ। त्यसैगरी, अपाङ्गता भएका व्यक्ति तथा द्वन्द्वपीडितलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।
गाउँपालिकाले यातायात सेवाको पहुँच विस्तार गर्दै नागरिकको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ। बस सेवाको सञ्चालनसँगै ग्रामीण क्षेत्रका नागरिकलाई फिदिम लगायतका बजार तथा सेवा केन्द्रसम्म पुग्न थप सुविधा हुने अपेक्षा गरिएको छ।







