विशेष रिपोर्ट

धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क


संगीता राई

सुनसरी । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

केही वर्ष अघिसम्म उजाड र सुनसान जंगलका रूपमा रहेको उक्त क्षेत्र श्रमदानमार्फत विकास गरिएपछि अहिले लोकप्रिय पर्यटन गन्तव्यका रूपमा परिचित बनेको हो। विशेषगरी पार्कभित्र बनाइएको आकर्षक पानीको फोहरा (वाटर फाउन्टेन) पर्यटकका लागि मुख्य आकर्षण बनेको छ।

सिराहाको धनगढीमाई नगरपालिकाबाट यहाँ घुम्न आएका हरिनारायण चौधरीले धरान धेरै पटक आए पनि उक्त पार्क पहिलोपटक घुम्दा निकै रमाइलो लागेको बताए।

उनले प्राकृतिक संरचनाको संरक्षण र सौन्दर्यकरण गर्न सके बगर क्षेत्रसमेत उत्कृष्ट पर्यटन गन्तव्य बन्न सक्ने सन्देश यस पार्कले दिएको बताए।

पहिले ‘ओशो पार्क’ र ‘बीपी पार्क’ का रूपमा चिनिने उक्त क्षेत्र अहिले ‘श्रम संस्कृति पार्क’ नामले परिचित छ। श्रमदान अभियानमार्फत विकास गरिएको यस क्षेत्रमा दर्जनौँ साना–ठूला पार्क निर्माण गरिएका छन्।

एसडिबी पार्क, रक गार्डेन, चिल्ड्रेन पार्क, ज्येष्ठ नागरिक पार्कलगायतका संरचना यहाँ निर्माण गरिएका छन्। साथै, गोर्खाली भूपू लाहुरेहरूले निर्माण गरेको ‘गोर्खा चौतारी’ पनि पर्यटकको अर्को आकर्षण बनेको छ।

पार्क क्षेत्रमा हरियाली वातावरणसँगै विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाले ढाकिएका बगैँचाले आगन्तुकलाई आकर्षित गर्ने गरेका छन्। पार्कभित्र स्थानीय जनजीवन झल्काउने विभिन्न प्रतिमाहरू राखिएका छन्, जसले पर्यटकको ध्यान तान्ने गरेका छन्।

सर्दु, खर्दु र निसाने खोलाको बगर क्षेत्रमा निर्माण गरिएको पार्कमा फलफूलका बिरुवा, विश्रामस्थलका रूपमा चौतारा तथा आकर्षक बगैँचा निर्माण गरिएका छन्। साथै, धरानको पहिचान झल्काउने काठ काट्ने आराको नमुना तथा किरात संस्कृतिसँग सम्बन्धित चिन्डोको आकृतिमा धारा निर्माण गरिएको छ।

विभिन्न दाताले आफ्ना आफन्तको सम्झनामा बस्न मिल्ने संरचनाहरू निर्माण गरिदिएकाले पार्क थप व्यवस्थित बनेको छ। यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज भएको छ।
झापाबाट साथीहरूसहित घुम्न आएकी जयन्ती जिमीले पार्कको तीव्र विकास देख्दा खुसी लागेको बताइन्।

पार्क निर्माणसँगै आसपास क्षेत्रमा होटल तथा खाजा पसलको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। स्थानीय होटल व्यवसायी सुरज गुरुङका अनुसार पार्क बनेपछि व्यापारमा उल्लेख्य वृद्धि भएको छ।

दैनिक सयौँ पर्यटक धरान, पाँचथर, तेह्रथुम, धनकुटा, इटहरी, मोरङ, झापालगायत जिल्लाबाट आउने गरेका छन् भने विदेशबाट पनि पर्यटक आउने गरेका छन्।

पार्क संरक्षण समितिका अध्यक्ष पुनेन्द्रप्रसाद लिम्बूका अनुसार उक्त स्थान पहिले पैदलमार्गका रूपमा मात्र प्रयोग हुँदै आएको थियो। अहिले दैनिक पाँच सयदेखि एक हजारसम्म पर्यटक आउने गरेका छन् भने बिदाका दिनमा पाँच हजारसम्म पर्यटक आउने गरेका छन्।

धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्कराज राई (साम्पाङ) को नेतृत्वमा सुरु भएको श्रमदान अभियानबाट उक्त क्षेत्रको विकास गरिएको हो। स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरूको सहयोग र श्रमदानमार्फत पार्क निर्माण गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए।
उनका अनुसार पार्कमा हाल २५ देखि २८ जनाले रोजगारी पाएका छन्। पार्क क्षेत्रमा तीनवटा टिकट काउन्टर सञ्चालनमा रहेका छन् भने रोपिएका बोटबिरुवाको संरक्षणका लागि कर्मचारी खटाइएको छ।

खोलाको किनार क्षेत्रमा पार्क रहेकाले बर्खायाममा आउने बाढीले केही संरचनामा क्षति पुर्‍याउने समस्या रहेकाले खोलाको व्यवस्थापन गर्न सके पार्क अझ व्यवस्थित बन्ने उनको भनाइ छ।


पार्क क्षेत्रलाई अझ रमणीय र आकर्षक बनाउन थप भौतिक पूर्वाधार निर्माणका कामहरू जारी छन्। यहाँ पार्क बन्नुभन्दा अगाडि २०७५/७६ सालमा पूर्वसांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट २० लाख रुपैयाँमा ओशो पार्क र बीपी पार्क निर्माण गरिएको थियो ।

त्यसैगरी, पूर्वसांसद कृष्णकुमार राईको कोषबाट १० लाख रुपैयाँ सहयोगमा बीपी पार्क क्षेत्रमा घिर्लिङ अवशेषसम्म जाने सिँढी निर्माण गरिएको थियो।

धरान उपमहानगरपालिका–१३ स्थित फुस्रे चोकबाट श्रम संस्कृति पार्क पुग्न कोशी प्रदेश सरकारको ४० लाख रुपैयाँ सहयोगमा करिब एक किलोमिटर सडक कालोपत्रे गरिएपछि पर्यटकलाई आवतजावतमा थप सहज भएको छ।

Sanjip Timsina

Sanjip Timsina

About Author

सन्जिप तिम्सिना विगत ६ वर्षदेखि कोशी प्रदेशमा पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा आवद्ध रहनुभएको छ। उहाँले सुरुदेखि नै समाजका विभिन्न समस्या, जनचासोका विषय तथा सामाजिक मुद्दाहरूलाई उजागर गर्दै पत्रकारितामार्फत आवाज उठाउँदै आउनुभएको छ। साथै, उहाँ पर्यटन क्षेत्रसँग पनि सक्रिय रूपमा जोडिनु भएको एक कलम चलाउने पत्रकार हुनुहुन्छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

विशेष रिपोर्ट

इटहरीको आपगाछीस्थित काका भतिज रिसोर्ट एण्ड बारले मनायो पहिलो वार्षिकोत्सव

इटहरी | इटहरी वडा नम्बर १ शान्ति चोक स्थित सोल्टी वेस्टएन्ड अगाडि रहेको काका भतिज रिसोर्ट एण्ड बारले आफ्नो पहिलो
राजनीति राष्ट्रिय समाचार विशेष रिपोर्ट

अब सरकारका लागि छुट्टै ई-मार्केटप्लेस, सरकारी निकायले पनि सोझै अनलाइनबाट सरसामान किन्न सक्ने

काठमाडौँ । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई आधुनिकीकरण र सरल बनाउन सरकारी ई-मार्केटप्लेसको नयाँ अवधारणा ल्याएको छ । नेपाल राजपत्रमा हालै