लालीगुराँस नगरपालिकामा बाँदर धपाउन जेठ १ गते सार्वजनिक बिदा दिइने

Listen to this article
1 minute read

तेह्रथुम | तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन आउँदो जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बाँदरको आतंक नियन्त्रण गर्न सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न बिदा दिन लागिएको हो । नगर प्रमुख अर्जुन माबोहाङका अनुसार कृषकले दुःख गरेर उत्पादन गरेको अन्नबाली र तरकारी बाँदरले नष्ट गर्न थालेपछि समस्या समाधानका लागि बिदा दिई अभियान सञ्चालन गर्न लागिएको हो ।

बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको, रातदिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको तथा विद्यालय उमेरका बालबालिकासमेत पढाइ छाडेर बाली जोगाउन बाध्य भएकाले बिदा दिई अभियान सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ ।

पालिकाले एक सूचना जारी गर्दै बाँदरको समस्या सतहमा सामान्य देखिए पनि यसले कृषक वर्गलाई गम्भीर असर पारेको जनाएको छ । सूचनामा भनिएको छ, “कृषि उपज जोगाउन किसान रातभर खेतबारी कुरेर बस्नुपर्ने अवस्था छ। यसले किसानको आर्थिक अवस्था मात्र होइन, बालबालिकाको शिक्षा र परिवारको दैनिकीसमेत प्रभावित भएको छ।” नगरपालिकाले जेठ १ र २ गते सामूहिक रूपमा बाँदर लखेटेर नगरपालिकाको सीमाना बाहिर पठाउने कार्यक्रम तय गरेको जनाएको छ ।

यसका लागि वडाले तोकेको समय र स्थानमा उपस्थित भई बाँदर धपाउने अभियानमा सहभागी हुन कृषक, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणलाई सार्वजनिक रूपमा आह्वान गरिएको छ ।

नगरपालिकाले बाँदर नियन्त्रणका लागि अस्थायी संरचना निर्माण गरी हेरालु खटाउने व्यवस्था पनि गरेको छ । हाल वडा नम्बर ८ को मेघा पुछार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सिंहथाप पुछार क्षेत्रमा बाँदरका हेरालु राखिएको नगरपालिकाले जनाएको छ ।

अहिले विभिन्न स्थानमा नगरपालिकाले बाँदर धपाउन चार जना हेरालु परिचालन गरेको छ । पछिल्लो समय पहाडी जिल्लामा बाँदरको समस्या विकराल बन्दै गएको छ । विशेष गरी मकै, आलु, फलफूल तथा तरकारी खेतीमा बाँदरले क्षति पुर्‍याउँदा किसान खेतीपाती नै छाड्न बाध्य भएको गुनासो बढ्दै गएको छ ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *