मोरङको सुन्दरहरैंचा-१० स्थित सुकुना खेल मैदानमा जारी प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार तनावग्रस्त बनेको छ। उपाधिका लागि आरटी धरान एफसी, सुनसरी र सलहेश युवा क्लब, सिराहाबिच प्रतिस्पर्धा भइरहेका बेला मैदानमा खेलाडी, रेफ्री र टिम व्यवस्थापकबीच भनाभन हुँदै हानाहानको अवस्था सिर्जना भएको हो।
खेलका क्रममा रेफ्रीको निर्णयलाई लिएर एउटा टोलीका खेलाडी र व्यवस्थापन पक्षले असन्तुष्टि जनाएपछि विवाद सुरु भएको थियो। सामान्य भनाभनबाट सुरु भएको विवाद उग्र बन्दा दुवै पक्षका खेलाडी र अफिसियलहरू मैदानमै हातहालाहीमा उत्रिएका थिए। केही बेर खेल पूर्ण रूपमा अवरुद्ध भएको थियो भने मैदानमा तनाव बढेपछि सुरक्षाकर्मी र आयोजक सुन्दर खोर्साने युवा क्लबका प्रतिनिधिहरूले स्थिति नियन्त्रणमा लिने प्रयास गरे ।
स्थानीय खेलप्रेमीहरूको ठुलो उपस्थिति रहेको फाइनल खेलमा भएको यस किसिमको अमर्यादित घटनाले खेलमैदान केही समय रणमैदान जस्तै बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सुन्दर खोर्साने युवा क्लबको आयोजनामा जेठ २ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने कार्यतालिका रहेको छ।

